जेनजी आन्दोलन चुनावमै सीमित, इतिहास रच्ने मौका फेरि गुम्यो: प्रचण्ड

करन साउँद

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनमा सीमित भएको बताउँदै इतिहास बदल्ने ठूलो अवसर फेरि पनि खेर गएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देशमार्फत् उनले लोकतन्त्रका लागि भएका क्रान्ति र आन्दोलनको बलिदानी खेर जान नदिने संकल्प व्यक्त गरे । अहिले धूलो हेरेर निराश हुने समय नभएको भन्दै उनले “धूलो टक्टक्याएर निर्माणतर्फ अघि बढ्ने” आह्वानसमेत गरे ।

दाहालले भने, “हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंशले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धूलो हेरेर निराश हुने छुट हामीलाई छैन । धूलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु ।”

उनले २३ र २४ गतेका घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । जेनजी आन्दोलनलाई समयमै विवेकपूर्ण सम्बोधन नगर्दा मुलुक तरल अवस्थामा प्रवेश गरेको उनको बुझाइ छ ।

जेनजी आन्दोलनका माग आफूहरूले दशकअगाडि नै संविधानसभामा फरक मतका रूपमा राखेको स्मरण गर्दै दाहालले भने, “त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन । सम्झौता गर्नु पर्‍यो । तर, हामीले हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं । अहिले जेनजीले मागेका प्रत्यक्ष निर्वाचित कार्यकारी, हाम्रो त्यतिबेलैको सबभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइँमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं । पछिल्ला घटनाक्रम हेर्दा लाग्छ, हाम्रा फरक मतहरू त्यतिबेलै स्वीकार गरिन्थ्यो र कार्यान्वयन हुन्थ्यो भने आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन सक्थ्यो ।”

परम्परागत दलहरूले परिवर्तनको आवाज सुन्न ढिलाइ गर्दा जनयुद्धदेखि हालको जेनजी आन्दोलनसम्म देशले ठूलो मूल्य चुकाएको दाहालको भनाइ थियो । उनले कांग्रेस र एमालेलाई निरन्तर खबरदारी गर्दै जनताको आवेग र आक्रोशसँग नखेल्न आग्रह गरेको स्मरण गराए ।

“दुई तिहाइको घमण्डबाट बाहिर निस्कन मैले सुझाव दिइरहेँ । प्रतिपक्षका रूपमा संसदमा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै नै ठूलो प्रतिरोध हामीले गर्‍यौं । राजनीतिक दलका रूपमा जेनजी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामीले नै गर्‍यौं,” दाहालले भने ।

संसद विघटनको विधि र प्रक्रियामा असहमति हुँदाहुँदै पनि अन्तरिम सरकार गठनमा राष्ट्रपतिसँग सहजीकरणमा आफू र माओवादी केन्द्रको भूमिका रहेको स्पष्ट पार्दै उनले भने, “जेनजी आन्दोलनकै बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीतर्फ जाने गरी तत्काल संविधान संशोधन सम्भव थियो । त्यसपछि मात्र संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो । शासकीय स्वरूप बदल्ने र इतिहास रच्ने मौका फेरि पनि चुक्यो ।”

प्रतिक्रिया