भगवान विश्वकर्मा हिन्दू धर्ममा देवताका शिल्पकार, वास्तुकार र सम्पूर्ण ब्रह्माण्डका निर्माता मानिन्छन्। पौराणिक मान्यताअनुसार उहाँ अष्टा-वसू मध्येको आठौँ वसू हुनुहुन्छ। विश्वकर्माले भगवान शिवको लागि त्रिशूल, विष्णुको लागि सुदर्शन चक्र, इन्द्रको लागि वज्र निर्माण गर्नुभएको उल्लेख पाइन्छ। स्वर्गको इन्द्रप्रस्थ र लङ्काको सुनको महल पनि उहाँकै सिर्जना मानिन्छ। उहाँलाई शिल्प, कला, उद्योग र प्रविधिको आदि-प्रवर्तकका रूपमा पूजा गरिन्छ। विश्वकर्मा पूजा विशेष गरी मजदुर, शिल्पकार, इन्जिनियर, उद्योगी र कामदारहरूले आफ्ना औजार र प्रविधिको सम्मान स्वरूप मनाउने गर्छन्।
विश्वकर्मा पूजा धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले निकै महत्त्वपूर्ण छ। यसलाई केवल एक चाडको रूपमा बुझ्न सकिँदैन, यसमा विज्ञान, प्रविधि र श्रमप्रतिको गहिरो दर्शन निहित छ। भगवान विश्वकर्मालाई हिन्दू धर्ममा वास्तुकला, शिल्पकला र इन्जिनियरिङका आदिपुरुषका रूपमा मानिन्छ। पौराणिक कथाअनुसार उहाँले देवताहरूका लागि अद्वितीय हतियारदेखि लिएर महल र रथसम्म निर्माण गर्नुभएको थियो।
आजको युग विज्ञान र प्रविधिको युग हो। यही प्रविधिलाई जीवन्त बनाउन श्रम, सीप र समर्पण अपरिहार्य छन्। विश्वकर्मा पूजाले श्रम र प्रविधिबीचको अविभाज्य सम्बन्धलाई जोड्ने काम गरेको छ। यही दिनमा कामदार, शिल्पकार, इन्जिनियर, मजदुर वा उद्योगीहरूले आफ्ना औजार र उपकरणलाई सम्मान गर्दै पूजा गर्छन्। यसलाई उपकरण मात्र होइन, आफ्नै श्रमशक्तिको प्रतीक मानिन्छ। कलकारखाना, ग्यारेज वा पसलहरू यस दिन विशेषरूपमा सजाइन्छन्। मेसिन र यन्त्रहरूको पूजा गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने परम्परा अझै कायम छ।
आजको सन्दर्भमा विश्वकर्मा पूजाको महत्त्व अझ प्रस्ट बन्छ। किनभने आधुनिक प्रविधिहरू जस्तै कम्प्युटर, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ वा ३-डी प्रिन्टिङले हाम्रो जीवनमा ठूलो प्रभाव पारेका छन्। यी प्रविधि वा उपकरणहरूको प्रयोग मानव श्रमबिना सम्भव छैन। वैज्ञानिकले नयाँ प्रविधि विकास गर्न सक्छन्, तर त्यसलाई व्यवहारमा उतार्ने शक्ति श्रमिककै हातमा हुन्छ। यही कारण यो पर्व विज्ञान र श्रमबीचको सन्तुलनलाई प्रतिविम्बित गर्ने एउटा अद्वितीय परम्परा बनेको छ।
विश्वकर्मा पूजाले श्रमको सम्मान गर्ने सन्देश दिन्छ। प्रविधि कति आधुनिक भए पनि श्रमिकबिना त्यसको मूल्य शून्य हुन्छ। कुनै पनि प्रविधि प्रयोगकर्ताविहीन केवल धातु वा प्रविधिक तर्क मात्र हुन्छ। जब श्रमिकले आफ्नो सीप, श्रम र इमानदारितासहित त्यसलाई चलाउँछन्, तब मात्र प्रविधिले समाजलाई परिवर्तन गर्न सक्छ। यही कारण यो पर्वले मानिसलाई श्रमको कदर गर्न, श्रमिकलाई सम्मान गर्न र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्न प्रेरित गर्छ।
भविष्यमा विश्वकर्मा पूजाको महत्त्व अझ बढ्ने निश्चित छ। प्रविधि जसरी तीव्र गतिमा अगाडि बढिरहेको छ, त्यसरी नै श्रमको सम्मान गर्ने आधार पनि अझै प्रबल बन्नेछ। रोबोटिक्स वा कृत्रिम बुद्धिमत्ता कति नै उन्नत भए पनि मानव श्रम र सीपको आवश्यकता समाप्त हुने छैन। विश्वकर्मा पूजाले भविष्यमा पनि मानिस र मेसिनबीचको सामञ्जस्यलाई सुदृढ बनाउन योगदान गर्नेछ।
विश्वकर्मा पूजा धार्मिक अनुष्ठान मात्र नभई समाजलाई श्रम, विज्ञान र प्रविधिको सहअस्तित्वबारे सचेत गराउने पर्व हो। यसले हामीलाई हाम्रो कामप्रति इमानदार बन्न, सीपलाई सम्मान गर्न र प्रविधिलाई मानव हितका लागि प्रयोग गर्न प्रेरित गर्छ। यही मौलिकता नै यसको चिरस्थायी महत्त्व हो। विश्वकर्मा पूजाले दिएको शिक्षा स्पष्ट छ । श्रम, सीप र प्रविधिलाई सम्मान गरौं, तब मात्र हाम्रो सभ्यता र संस्कृतिले दिगो प्रगति गर्न सक्छ।