नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको खुलासा गर्नु भएकाे छ ।
शुक्रबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा ‘आवश्यकताको सिद्धान्त’ अन्तर्गत जेन–जी आन्दोलनमा संलग्न युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई प्रधानमन्त्री बनाइएको भए पनि त्यस प्रक्रियाको संवैधानिक वैधानिकता ओलीकै सिफारिसबाट सुनिश्चित भएको बताउनु भएकाे हाे ।
उहाँका अनुसार, प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसका आधारमै सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका थिए ।
“कार्कीलाई प्रधानमन्त्री बनाउने सिफारिस गर्ने व्यक्ति केपी ओली नै हुन्,” प्रचण्डले भने, “ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले कार्कीलाई नियुक्त गर्नुभयो । अहिले यो सरकार हावामा बनेको भन्नेहरूलाई त्यो तथ्य हेर्नुपर्छ, सिफारिसकर्ता उहाँ (ओली) नै हुनुहुन्छ, हामी त त्यस प्रक्रियाका साक्षी मात्र हौँ ।”
प्रचण्डले देश अहिले गम्भीर सङ्कट र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै यसको समाधानका लागि सबै राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार र बुद्धिजीवीको संयुक्त पहल आवश्यक रहेकोमा जोड दिनुभयाे ।
उहाँले भन्नुभयाे, “राष्ट्र सङ्कटमा छ भन्नेमा अहिले सबैको सहमति देखिन्छ । अब आवश्यक कुरा के हो भने यो सङ्कटको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति निर्माण गर्नुपर्छ ।”
उहाँका अनुसार, विद्यमान अस्थिरता, अविश्वास र सामाजिक विभाजनको वातावरण अन्त्य गर्न सबै शक्तिहरूले संयुक्त रूपमा देशलाई स्थायित्व र सहमतितर्फ लैजानुपर्ने आवश्यकता छ ।