डडेल्धुरा । सामाजिक विकास कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। यस अवसरमा सोमबार कार्यालयमै सरोकारवालासँग एकदिने अन्तरक्रिया, छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मीनबहादुर लामिछानेले गरेका थिए। कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यालय प्रमुख लामिछानेले प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको कुल बजेट ८ करोड ३१ लाख रुपैयाँ रहेकोमा करिब ७५ प्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल भएको जानकारी दिए। उनले भौतिक संरचना निर्माणमा देखिएका समस्या, समयमा बजेट निकासा नहुनु, महिला तथा प्राविधिक जनशक्तिको अभावले कार्यक्रम कार्यान्वयनमा चुनौती आएको बताए।
उक्त अवधिमा विद्यालय भवन, खेलमैदान, घेरबार निर्माण, साथै समुदायमा विद्यमान सामाजिक कुसंस्कार तथा कुरीतिविरुद्ध केन्द्रित विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कार्यक्रमअन्तर्गत पूँजीगततर्फ विद्यालय भवन तथा शौचालय निर्माण, खेलमैदान, विद्यालय घेरबार, स्वास्थ्य उपकरण खरिद, बर्थिङ सेन्टर, सभाहल निर्माण तथा प्रदेशसभा निर्वाचन क्षेत्र नमुना विद्यालय योजना समावेश गरिएको छ। साथै धामी–झाँक्री सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो।
चालु खर्चतर्फ ड्राइभिङ तालिम, भलिबल प्रतियोगिता, महिला सशक्तीकरण तथा महिला उद्यमी लक्षित कार्यक्रम, स्थानीय संस्कृति तथा चौलो नाचको संरक्षण र प्रवर्द्धन, लागुऔषध नियन्त्रण, राष्ट्रिय तथा सामाजिक दिवस र जिल्लाका सहिद स्मृति दिवससम्बन्धी कार्यक्रमहरू समेटिएका छन्।
कार्यालय प्रमुख लामिछानेका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि चालुतर्फ २० करोड ८४ लाख रुपैयाँ र पूँजीगततर्फ २ लाख रुपैयाँ गरी कुल २२ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, पारदर्शिता र जिम्मेवारीमा जोड दिए। नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह, सञ्चारकर्मी राम धामी लगायतले टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमले सामाजिक विकास क्षेत्रका योजना तथा कार्यक्रमबारे सरोकारवालालाई स्पष्ट जानकारी गराउँदै आगामी वर्षको कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।