एमाले केन्द्रीय परिषद् सदस्य ‘यथार्थ’ माओवादी केन्द्रमा प्रवेश

करन साउँद

डडेल्धुरा । बैतडी कुवाकोट निवासी नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ले एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

जनयुद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेका थिए। लामो समयदेखि जिल्लामा संगठनात्मक जिम्मेवारी बहन गर्दै आएका कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आफ्नो निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन्।

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’को सहजीकरणमा सम्पन्न प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले कुँवरको पुनर्मिलनलाई ऐतिहासिक भन्दै “संगठन सुदृढीकरण र जनआन्दोलनको नयाँ चरणमा यस्ता अनुभवी नेताको भूमिका महत्वपूर्ण हुनेछ” भन्ने विश्वास व्यक्त गरे।

दीपेन्द्र कुँवरले पनि पार्टीमा पुनर्मिलन आफूको राजनीतिक मूलधारमा फर्किएको  बताएका छन्। “जनयुद्धका कठिन दिनदेखि नै साथ दिएको माओवादी आन्दोलनमै भविष्य देख्छु,” उनले भने, “अब जनताको मुद्दाका लागि अझ सशक्त रूपमा लाग्नेछु।”

प्रतिक्रिया