कैलाली । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। सुदुरपश्विम प्रदेशको अस्थायी राजधानी धनगढीमा बसेको प्रदेश कमिटीको आठौं पूर्ण बैठकले यो प्रस्ताव पारित गरेको हो।
एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको उक्त बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सातवटा समूह बनाइएको थियो। ती समूहबाट प्राप्त सुझावका आधारमा प्रस्ताव सर्वसम्मतले पारित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन्।
बैठकमा समूहगत रूपमा प्राप्त भएका लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन तयार पारिने र त्यो प्रतिवेदन केन्द्रीय कमिटीमा पठाइनेछ। प्रदेश सचिव रणबहादुर चन्दका अनुसार, भदौ १० गतेभित्र सुझावसहितको प्रतिवेदन केन्द्रमा पठाउने पार्टीको सर्कुलर रहेको छ र सोही अनुसार प्रतिवेदन लेखनको काम भइरहेको छ। बैठकले आगामी कात्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय पनि गरेको छ।
पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय हुन दिनुपर्ने आवाज उठिरहेको बेला सुदूरपश्चिम कमिटीमा भने विधान संशोधन प्रस्ताव सहजै पारित भएको छ। बैठकमा एक-दुई जना सचिवालय सदस्यले मौखिक रूपमा पूर्वराष्ट्रपतिलाई पार्टीको सदस्य हुनबाट रोक्न नहुने र दुई कार्यकाल तथा ७० वर्षे उमेरहद कायम राख्नुपर्ने सुझाव दिए पनि अधिकांशले केन्द्रीय कमिटीले तयार पारेको प्रस्तावलाई नै उचित ठहर गरेका थिए। समूहगत छलफलमा पनि प्रस्तावलाई हुबहु पारित गर्नुपर्ने सुझाव आएको थियो।
बैठकलाई महासचिव शंकर पोखरेल, सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले सम्बोधन गरेका थिए। बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, नारदमुनि राना, निरुदेवी पाल लगायतका नेताहरूको पनि उपस्थिति थियो।