शिक्षण मेरो अन्तिम हैन, पहिलो रोजाई हो

lalbigul.com

शिक्षण मेरो अन्तिम हैन, पहिलो रोजाइ

ठाकुर भाट 

शिक्षक समाजको आत्मा हुन्। यो भनाइले शिक्षण पेशाको गहिराइ र महत्त्वलाई उजागर गर्दछ। शिक्षा समाजलाई प्रकाशतर्फ लैजाने बाटो हो भने शिक्षक त्यसका मार्गदर्शक हुन्। अहिलेको समयमा धेरै पेसा र व्यवसायका अवसरहरू भए पनि मैले सधैँ शिक्षणलाई मेरो पहिलो रोजाइको रूपमा लिएको छु। यस लेखमा मेरो शिक्षण यात्राका अनुभव, चुनौती, अवसर र महत्त्वका आधारमा किन शिक्षण मेरो जीवनको पहिलो प्राथमिकता हो भन्ने चर्चा गरेको छु । 

शिक्षक समाजको मेरुदण्ड हुन् भन्ने भनाइ केवल भनाइमा मात्र सीमित छैन, यो व्यवहारमै सिद्ध हुन्छ । विद्यालयलाई ज्ञान-विज्ञानको मन्दिर मानिन्छ भने शिक्षक त्यस मन्दिरका पुजारी हुन् । अहिलेको पुस्तालाई सक्षम, सुसंस्कारित र विवेकी नागरिक बनाउने मूल जिम्मेवारी पनि शिक्षककै काँधमा छ । 

शिक्षण केवल रोजगारी होइन सामान्यतया कतिपय मानिसहरूले शिक्षणलाई सजिलो जागिर ठान्ने गर्छन् तर वास्तवमा यो पेसा जीवनभरको साधना हो । शिक्षकले दिनहुँ नयाँ-नयाँ चुनौती सामना गर्नुपर्ने हुन्छ । विद्यार्थीको सीप र सोचाइ विकास गराउनु, सही मार्गदर्शन दिनु, आत्मबल जगाउनु, यी सबै कार्य एकदम गम्भीर जिम्मेवारी हुन् । 

शिक्षणमा रमाउनेले मात्र यसको वास्तविक स्वाद बुझ्न सक्छ । आजको पुस्ताले आफूलाई विश्व प्रतिस्पर्धामा सक्षम बनाउनुपर्ने अवस्था छ । त्यसका लागि शिक्षण-शिक्षण प्रक्रियामा शिक्षकलाई प्रेरणादायी व्यक्तित्वको रूपमा उभिनु आवश्यक हुन्छ । 

शिक्षणतर्फको पहिलो पाइला 

मेरो औपचारिक शिक्षण जीवनको सुरुवात मैले २०७३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस,कृतिपुर बाट अङ्ग्रेजी शिक्षामा स्नातकोत्तर उत्तीर्ण गरेलगत्तै २०७३ साल फाल्गुन १७ गते देखि श्री चण्डेश्वरी माध्यमिक विद्यालय, इन्द्रावती गाउँपालिका १० बडहरे , सिन्धुपाल्चोकमा तत्कालीन उच्च माध्यमिक तहको अङ्ग्रेजी विषयको अध्यापनबाट भएको थियो । त्यतिबेला करिब २३ वर्षको उमेरमा कक्षाकोठामा शिक्षककोरुपमा पाइला टेक्दा विद्यार्थीका जिज्ञासु अनुहार र उनीहरूको उत्साहले मलाई असीमित ऊर्जा प्रदान गर्‍यो । त्यही दिनदेखि शिक्षण मेरो लागि केवल एक पेसा मात्र नभई जीवनको पवित्र उद्देश्य हो भन्ने अनुभूति भयो । 

निरन्तर सिकाइ र ग्रामीण देखि सहर सम्मको अनुभव 

करिब साढे दुई बर्षको सिन्धुपाल्चोक शिक्षण अनुभव पश्चापस्चात २०७५ सालको शिक्षक सेवा आयोगको विज्ञापनमा मैले आफुलाई सुदुरपश्चिमबाट अङ्ग्रेजी विषयमा उमेदवारको रुपमा प्रस्तुत गरे । उक्त आयोगको परिक्षामा आफुलाई तेस्रो स्थानमा उत्तीर्ण गर्न सफल भैई स्थाइ शिक्षकको रुपमा बैतडी जिल्लाको श्री बाशुदेव मा. वि  लिस्किटामा करिव एक बर्ष ग्रामीण क्षेत्रमा शिक्षण अनुभव बटुल्ने अवसर प्राप्त गरे । यस अनुभवले मलाई नयाँ शिक्षण पद्धति, विद्यार्थी केन्द्रित गतिविधि र अध्यापन शैलीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्‍यो । निरन्तर सिकाइ र अद्यावधिक हुन तालिम र स्व-अध्ययन कति आवश्यक हुन्छ भन्ने कुरा मैले त्यतिबेला गहिरो रूपमा बुझेँ । 

त्यसपछि, २०७७ सालमा बैतडीबाट आफैले अध्ययन गरेको विध्यालय श्री सरस्वती नमूना माध्यमिक विद्यालय, भागेश्वर गाउँपालिका ३ , बोगटा डडेलधुरामा सरुवा भैइ करिब दुई वर्ष कार्यरत रहँदा ग्रामीण परिवेशका विद्यार्थीहरूसँग नजिक भएर काम गर्ने मौका पाएँ । कठिन भौगोलिक अवस्था, शैक्षिक सामग्रीको कमी र आर्थिक अभावका बावजुद पनि विद्यार्थीहरूको पढ्ने चाहना र लगनशीलता देखेर म प्रभावित भएँ । त्यसले मलाई शिक्षा ग्रामीण समाजको मुटु हो भन्ने गहिरो अनुभूति दिलायो । केही समयपछि करिव २ वर्ष सोही विध्यालयमा करिव १८ महिना प्रधानाध्यापकको जिम्मेवारीको अनुभवले शिक्षण संस्था र विद्यालय प्रसाशनलाई अझै नजिकबाट बुझ्ने अवसर प्राप्त गरे । 

करिब २ बर्षको आफै अध्ययनगरेको विध्यालयको शिक्षण अनुभव पश्चात् डडेलधुराको सदरमुकाम स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेलधुरामा सरुवाको अवसरलाई आत्मसात गर्दै हाल सहरी क्षेत्रको विद्यालयमा  आफ्नो सिक्ने र सिकाउने कर्मलाई जारी राखेको छु । विध्यार्थीहरु अटुट विश्वास, सम्मान र मायाले लाग्छ सधै यही शिक्षण पेशामा रमिरहु र रमाइरहन्छु पनि । 

शिक्षण पेसाको महत्त्व र चुनौती

शिक्षणले विद्यार्थीहरूलाई केवल ज्ञान दिँदैन, यसले जीवनको मार्गनिर्देशन पनि गर्छ। अनुशासन, सदाचार, श्रमको मूल्य, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रेम सिकाउने काम शिक्षककै कर्तव्य हो । यसरी, शिक्षकले विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवनका लागि तयार गर्छन् । यही कारणले शिक्षण पेसालाई समाजको आधारशिला मानिन्छ । यस यात्रामा मैले धेरै चुनौतीहरू पनि सामना गरेँ, जसमा शैक्षिक साधनस्रोतको अभाव, ग्रामीण क्षेत्रमा शिक्षा विस्तारको कठिनाइ, प्रविधिको सीमित पहुँच र पारिश्रमिकको न्यूनता प्रमुख छन् । तर, यी चुनौतीका बाबजुद पनि विद्यार्थीहरूको अटुट जिज्ञासा, राष्ट्र निर्माणमा योगदान गर्ने अवसर, सामाजिक सम्मान र निरन्तर आत्मविकासको सम्भावनाले शिक्षणलाई कठिनाइभन्दा बढी सार्थक र सन्तोषजनक बनाएको छ। 

किन शिक्षण पेशा मेरो पहिलो रोजाइ हो ?

अन्य पेसामा अवसर, धन वा पद प्राप्त भए पनि शिक्षणले दिने सन्तुष्टि बेग्लै हुन्छ । विद्यार्थीको प्रगति देख्दा, उनीहरूको सफलताको कथा सुन्दा, शिक्षकको मनमा उत्पन्न हुने खुसी पैसाले नाप्न सकिँदैन । शिक्षक मात्र होइन, राष्ट्रकै निर्माणकर्ता भएकाले शिक्षण पेसालाई पहिलो रोजाइ बनाउन सकिन्छ । शिक्षणलाई केवल जागिर नभई जीवनको उद्देश्य मानेमा यसले व्यक्तिगत र सामाजिक दुवै क्षेत्रमा ठूलो योगदान पुर्‍याउँछ ।

शिक्षणलाई मैले पहिलो रोजाइको रूपमा अँगाल्नुका मुख्य कारणहरू यस्ता छन् 

•सेवामुखी दृष्टिकोणः-  शिक्षण समाजसेवाको सर्वोत्तम माध्यम हो, जहाँ भविष्यका नागरिकको जग बसालिन्छ । 

•राष्ट्र निर्माणः- नयाँ पुस्तालाई शिक्षित र सक्षम बनाएर राष्ट्र निर्माण गर्ने एक मात्र बलियो आधार शिक्षण हो।

•जीवनपर्यन्त सन्तोषः-  विद्यार्थीको प्रगति र सफलतामा देखिने खुसी र गौरवको भावना अमूल्य हुन्छ ।

•निरन्तर सिकाईः- अध्यापनले शिक्षकलाई पनि हरेक दिन नयाँ कुरा सिक्न र आफूलाई अद्यावधिक राख्न प्रेरित गर्छ ।

•सामाजिक सम्मानः-  शिक्षकलाई समाजले 'गुरु' का रूपमा मानसम्मान दिन्छ, जुन कुनै पनि आर्थिक लाभभन्दा महत्त्वपूर्ण हुन्छ ।

 शिक्षण केवल रोजगारी वा आयआर्जनको साधन होइन, यो राष्ट्रप्रतिको समर्पण र सेवाभाव हो । मैले जीवनमा अन्य अवसरहरू पनि देखेँ तर शिक्षा र शिक्षणभन्दा ठूलो र पवित्र काम अरू केही लागेन । त्यसैले गर्वका साथ भन्छु, शिक्षण मेरो अन्तिम हैन, पहिलो रोजाइ हो। 'शिक्षण पेसा गाह्रो छ, तर यही पेसा जीवनलाई अर्थपूर्ण बनाउने सबैभन्दा ठूलो माध्यम पनि हो ।  समाजमा परिवर्तन ल्याउने शक्ति कलमसँग छ र त्यस कलमलाई चलाउने हात शिक्षककै हुन । त्यसैले “शिक्षण मेरो पहिलो रोजाइ हो” भन्ने अभिव्यक्ति केवल भावनात्मक कुरा नभई जीवनको दृढ विश्वास हो । 

लेखक 'भाट  करिव १० बर्ष निरन्तर शिक्षण पेशामा आवद्ध रेहका र हाल महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेलधुरामा माध्यमिक तहका अङ्ग्रेजी विषयका स्थायी शिक्षक हुन ।'

प्रतिक्रिया