गन्यापधुरा डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सशर्त अनुदानअन्तर्गत बाँझो जग्गा सदुपयोग कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार बाँझो जमिनमा व्यावसायिक खेती गर्ने कृषकलाई लक्षित गरी अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। “हामीले नीति तथा कार्यक्रममै समेटेर गाउँको विकास आफ्नै बलबुतामा अगाडि बढाउने लक्ष्य लिएका छौँ,” अध्यक्ष कार्कीले भने, “आत्मनिर्भर गाउँ निर्माणका लागि कृषि उत्पादनलाई प्राथमिकतामा राखेका छौँ।”
गाउँपालिकाका कृषि अधिकृत योगेन्द्र देउवाले बाँझो जग्गामा तरकारी खेती लगायत नगदेबाली उत्पादन गर्ने कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मलाई अनुदान उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार एक रोपनी बराबर ३ हजार रुपैयाँ नगद सहयोगका साथै पोलिहाउस, बीउ, विषादी लगायत आवश्यक उपकरणहरू आवश्यकता अनुसार उपलब्ध गराइनेछ।
स्थानीय कृषक खेमराज अवस्थीका अनुसार बाँझो खेततर्फ कृषकको आकर्षण बढाउने उद्देश्यले ल्याइएको यो कार्यक्रम सकारात्मक र उपयोगी भएको छ। “कृषकलाई प्रत्यक्ष राहत पुग्ने खालको कार्यक्रम भएकाले उत्पादन बढ्नेसँगै आयआर्जनमा पनि सहयोग पुग्छ,” उनले बताए।
इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्म सञ्चालक कृषकहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र गाउँपालिकामा आवेदन दर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यो कार्यक्रममार्फत बाँझो जग्गाको सदुपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।