आन्दोलनको मूल कारण: कुशासन र भ्रष्टाचार हो

करन साउँद

नेपालमा सोमबार हिजो भएको रक्तपातपूर्ण घटनाले देशलाई गहिरो प्रश्नको सामु ल्याइदिएको छ । सामाजिक सञ्जालमाथि सरकारले अचानक लगाएको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका युवामाथि गोली चल्दा डेढ दर्जनभन्दा बढीको जीवन गुम्यो । यो केवल एउटा आकस्मिक निर्णयको परिणाम मात्र होइन दशकौँदेखि थुप्रिँदै आएको राजनीतिक कुशासन, गहिरिँदै गएको भ्रष्टाचार र दलगत स्वार्थमा डुबेको शासन व्यवस्थाको प्रतिफल हो । सामाजिक सञ्जाल प्रतिबन्ध त एउटा ट्रिगर मात्रै थियो, वास्तविक कारण भने राज्य सञ्चालनको चरम असफलता र गैरजिम्मेवारी हो ।

नेपालको लोकतान्त्रिक यात्राले पछिल्ला तीन दशकमा धेरै उतार–चढाव भोगिसकेको छ । बहुदलको पुनःस्थापना, जनआन्दोलन, द्वन्द्व, गणतन्त्र र संघीय संरचनायी सबै    राजनीतिक उपलब्धिहरू कागजमा त हासिल भए तर कार्यान्वयनमा भने बारम्बार असफलता देखियो ।  

सामाजिक सञ्जाल आजको जीवनशैलीको अभिन्न अंश भइसकेको छ । व्यापार, शिक्षा, स्वास्थ्य, कृषिदेखि सामाजिक सम्बन्धसम्म सबै क्षेत्रमा यसको प्रयोग हुन्छ । यसलाई अकस्मात बन्द गर्नु भनेको नागरिकलाई अन्धकारमा धकेल्नु हो । तर हाम्रो राजनीतिक नेतृत्वले यसको महत्व बुझ्नै चाहेनन् । बरु, आलोचना सहन नसक्ने प्रवृत्तिबाट ग्रसित भई नियन्त्रणको बाटो रोज े। जब अभिव्यक्तिको अधिकार कुण्ठित गरिन्छ, तब समाजमा असन्तोष बढ्छ । यही असन्तोष सडकमा विस्फोट भएर प्रकट भयो ।

युवाहरूले उठाएको आवाज केवल सामाजिक सञ्जाल खोल्ने माग मात्र होइन । उनीहरूको माग मूलतः प्रणालीगत सुधारसँग गाँसिएको छ । उनीहरू भ्रष्टाचारको अन्त्य चाहन्छन्, दलीयकरणबाट मुक्त शिक्षा र प्रशासन चाहन्छन्, कानून सबैका लागि बराबरी लागू होस् भन्ने चाहन्छन् । तर सत्तामा बसेका नेताहरू यस्ता मागसँग संवेदनशील देखिएनन् । बरु उनीहरूले आफ्ना गलत निर्णयलाई जोगाउन दमनको बाटो रोजे ।

कुशासन र भ्रष्टाचारले नेपालको राजनीति र समाजलाई भित्रैदेखि खोक्रो बनाएको छ । ठूला दलका नेताहरू बारम्बार सत्तामा पुगे तर विकास र सुशासनका एजेन्डा कहिल्यै प्राथमिकतामा आएनन् । उल्टै, तिनै नेताहरूले कानुन मिच्दा उन्मुक्ति पाए भने सामान्य नागरिकले सानो गल्तीमै सजाय भोग्नुपर्यो । यस असमानताले युवाको मनमा गहिरो आक्रोश जन्माएको छ ।

नेपालको राजनीतिक नेतृत्व अहिले नैतिक धरातल गुमाइसकेको छ । प्रधानमन्त्री केपी ओली बारम्बार सामाजिक सञ्जालविरुद्ध असहिष्णु देखिए, त्यसलाई नियन्त्रण गर्ने जुनसुकै बहाना खोजे । अर्कोतर्फ, कांग्रेस सभापति शेरबहादुर देउवा स्वतन्त्रताको हिमायती भन्ने भए पनि व्यवहारमा सत्ताको मोहले उनीलाई मौन रहन बाध्य बनायो । दुवै नेताको यो प्रवृत्ति जनताप्रति जिम्मेवार नभएर केवल सत्ताप्रतिको मोहमा आधारित देखिन्छ ।

आजको आन्दोलनलाई केवल “युवाको आक्रोश” भनेर खारेज गर्न सकिन्न । यो वास्तवमा लामो समयदेखि राज्यले समाधान गर्न नसकेका समस्याहरूको विस्फोट हो । शिक्षा प्रणाली राजनीति र भ्रस्टाचारले ग्रस्त छ, स्वास्थ्य सेवा पहुँच बाहिर छ, रोजगारीका अवसर अभाव छन्, न्यायपालिका माथि पनि जनताको विश्वास हराउँदै गएको छ । यी सबै समस्याको जरामा कुशासन र भ्रष्टाचार छन् ।

महाभारतमा भनिएझैँ, समयले उत्पत्ति गर्छ र समयले नै संहार गर्छ । नेपालका पुराना नेताहरूले दशकौँसम्म नेतृत्व गरेर पनि देशलाई सही बाटो देखाउन नसकेको आजको वास्तविकता हो । उनीहरूको राजनीतिक समय सकिएको छ । अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिबाट मात्रै देशलाई अगाडि बढाउन सकिन्छ ।

आन्दोलनको तात्कालिक कारण  मूल कारण भने कुशासन र भ्रष्टाचार नै हा े। जबसम्म यी समस्याको अन्त्य हुँदैन, तबसम्म यस्ता आन्दोलन र असन्तोष बारम्बार देखा पर्छन् । लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास पुनःस्थापित गर्न अब दलहरूले यथार्थ स्वीकार गरेर सुधारका बाटोमा हिँड्नैपर्छ । नेपालमा हिजो भएको रक्तपातपूर्ण घटनाले देशलाई गहिरो प्रश्नको सामु ल्याइदिएको छ । सचेत हुन आवश्यक छ । 

प्रतिक्रिया