स्थानीय जनप्रतिनिधिको डोजर मोह: विकास कि आत्मघाती यात्रा ?

करन साउँद

आजकल, नेपालको ग्रामीण परिदृश्यमा एउटा फरक खालको आवाज गुन्जिरहेको छ, त्यो हो, डोजरको आवाज। स्थानीय तहका जनप्रतिनिधिहरूले चुनाव जितेलगत्तै गर्ने पहिलो काममध्ये एउटा विकासको प्रतीक भन्दै डोजर चलाउनु बनेको छ । पहाडका भित्ताहरू चिर्दै, जंगलका रूखहरू ढाल्दै र नदीका किनारहरू खन्दै अगाडि बढ्ने यी डोजरहरूले विकासको होडबाजीलाई एउटा नयाँ उचाइ दिएका छन्। तर, के यो साँचो अर्थमा विकास हो त ? या यो केवल विनाशको यात्रामाथिको एउटा आत्मघाती दौड मात्र हो ?

नेपालको भौगोलिक बनावट आफैंमा निकै संवेदनशील र जोखिमपूर्ण छ। यहाँका पहाडी भूभागहरूले हजारौं वर्षको प्राकृतिक सन्तुलन कायम गरेका छन्, जसलाई हामीले एकै झट्कामा भत्काइरहेका छौं। प्राविधिक मापदण्ड, दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) जस्ता अत्यावश्यक प्रक्रियाहरूलाई बेवास्ता गरी जथाभावी डोजर चलाउँदा त्यसले तत्काल त सडकको रूप लिन्छ तर बर्खाको पहिलो पानीसँगै त्यही सडक विनाशको मूल स्रोत बन्न पुग्छ। यसरी बिना इन्जिनियरिङ ज्ञान बनाइएका कच्ची सडकहरूबाट निस्केको माटो र ढुंगामाटोले विशाल पहिरोको रूप लिन्छ, जसले गाउँ र बस्तीलाई समेत जोखिममा पार्छ। यो विनाशकारी प्रक्रिया केवल पहाडमै सीमित हुँदैन, माटो र ढुङ्गाहरू बग्दै तराईका उर्वर फाँटहरूमा पुग्छन्। यसले सदियौंदेखि धान र अन्न उब्जाउने तराईका फाँटहरूलाई बालुवा र ढुंगाको मरुभूमिमा परिणत गरिदिन्छ। यसको सीधा असर स्थानीय किसानको जीविकोपार्जनमा मात्र होइन, देशको समग्र खाद्य सुरक्षामाथि नै पर्छ।

हाम्रा गाउँहरू अहिले रित्तिँदै छन्, युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। तर, यस्तो अवस्थामा पनि जहाँ बस्ती छैन, जहाँ कृषि सम्भावना छैन, त्यहाँ पनि नयाँ सडक खोल्ने होड चलिरहेको छ । यो होडबाजीले केवल वातावरणीय क्षति मात्र गरिरहेको छैन, यसले समाज र राजनीतिमा दलगत स्वार्थको छायाँलाई पनि उजागर गरेको छ । जनप्रतिनिधिहरूले आफ्ना दलका नेताको नाममा, आफ्ना समर्थकहरूको बस्तीमा र पार्टीको ‘सिंहद्वार’सम्म सडक पुर्‍याउने होडमा गाउँको वास्तविक आवश्यकतालाई बेवास्ता गरिरहेका छन्। खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी र भएका सडकहरूको मर्मतसम्भार जस्ता आधारभूत आवश्यकताहरू प्राथमिकताको सूचीबाट बाहिर धकेलिँदै छन्। यसरी डोजर मोहको दौडमा हामीले आफ्नो भविष्यलाई नै दाउमा लगाइरहेका छौं।

बर्खामा जोखिम बढ्नुका प्रमुख कारणहरूमध्ये सडक निर्माणको प्राविधिक अभाव एक हो। इन्जिनियरिङ अध्ययनबिना बनाइएका सडकमा पानीको निकासका लागि नाली, कटान नियन्त्रणका संरचनाहरू र भू–क्षय रोक्ने उपायहरू राखिएका हुँदैनन्। यसले गर्दा माटोको प्राकृतिक संरचना नष्ट हुन्छ र वर्षात्को पानीले माटोलाई सहजै बगाएर लैजान्छ। दोस्रो, डोजरले वनस्पति र माटोको प्राकृतिक संरचनालाई नष्ट गरिदिन्छ, जसले माटोको पकडलाई कमजोर बनाउँछ। तेस्रो, पहाडबाट बगेर आएको माटो र ढुङ्गा गिट्टीहरू तराईका उर्वर जमिनमा थुप्रिँदा खेतीयोग्य जमिनको नाश हुन्छ र बस्तीहरू डुबानको जोखिममा पर्छन्।

अब हामीले नयाँ सडक खोल्नेभन्दा पनि भएका सडकहरूको संरक्षण र मर्मत–सम्भारमा ध्यान दिनुपर्छ। टिकाउ विकासु भन्ने शब्दलाई केवल नारामा सीमित नगरी नीति र व्यवहारमा लागू गर्नुपर्छ। सडक निर्माण गर्नुअघि त्यसको विस्तृत प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुनुपर्छ। नयाँ सडक खोल्दा ‘कटान’लाई भन्दा बढी ‘सुदृढीकरण’ र ‘निकास प्रणाली’मा लगानी बढाउनुपर्छ। दलगत स्वार्थलाई पन्छाएर सामुदायिक आवश्यकता र दीर्घकालीन लाभका आधारमा योजना बनाउनुपर्छ। पहाडमा हुने अव्यवस्थित सडक निर्माण रोक्नुपर्छ र तराईका खेतीयोग्य जमिनमा माटो र बालुवा फाल्न प्रतिबन्ध लगाउनुपर्छ। जनप्रतिनिधिहरूको मूल्याङ्कन सडकको लम्बाइले होइन, त्यसको गुणस्तर र टिकाउपनले गरिनुपर्छ।

नेपालको भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दा, डोजर केन्द्रित विकास दृष्टिकोण अब केवल ‘लापरबाही’ मात्र होइन, ‘आत्मघाती’ रणनीति बन्न थालेको छ। बर्खामा डोजरले खोलिएका सडकहरू विनाशको द्वार बन्छन्, जसको मूल्य किसान, मजदुर र ग्रामीण बस्तीले चुकाउनुपर्छ। आज नै सचेत नभए, हामी वर्षात्को पानीसँगै केवल माटो र बालुवा मात्र होइन, हाम्रो गाउँ, हाम्रो खेती, र हाम्रो भविष्य पनि बगाउन दिनेछौँ। तयसैले विनासकारी बिकास रोक्नु पर्छ । 

प्रतिक्रिया