काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका सम्पूर्ण तहका कमिटी र नेताहरूलाई आसन्न निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसँगै माओवादीले पनि चुनावी तयारीलाई तीव्रता दिने निर्णय गरेको हो ।
यद्यपि, पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । अध्यक्ष प्रचण्डले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्लास्तरका नेताहरूलाई चुनावको सम्पूर्ण तयारीमा सक्रिय हुन आग्रह गरेका छन् । 'चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन । प्रचण्डले भने अब हामी चुनावमा केन्द्रित भई संगठनलाई सुदृढ र परिचालित गरौँ ।
जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तन र बदलिँदो राष्ट्रिय परिस्थितिअनुसार संगठन विस्तार, जनसम्पर्क र सशक्तीकरणमार्फत निर्वाचनको तयारी गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
माओवादीले नेपाली कांग्रेस, नेकपा एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकट टार्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि चुनाव नै उत्तम विकल्प रहेको ठहर गरेको छ । यसै कारण पार्टीले आवश्यक गृहकार्य, नीति निर्माण, उम्मेदवार छनोट र जनस्तरको अभियानलाई प्रारम्भिक चरणमै अघि बढाएको छ ।
अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने तयारी रहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले पहिले आठ दलसँग मिलेर संसद् पुनःस्थापनाको माग गरे पनि अहिले चुनावमा जानुको विकल्प नरहेको अनौपचारिक निष्कर्ष निकालेको छ ।
यसैबीच, माओवादीले जेन-जी विद्रोहपछि स्थगित भएको मध्यपहाडी राजमार्ग अभियानको कार्यतालिका पुनः सक्रिय पार्दै स्थानीय तहसम्मको राजनीतिक गतिविधि तीव्र बनाएको छ । अध्यक्ष प्रचण्डसहित अन्य नेताहरू दैनिक भेटघाट, छलफल र जनसभामा सक्रिय भइसकेका छन् ।