छाडा चौपायाको समस्या: एउटा गम्भीर सामाजिक र पर्यावरणीय चुनौती

करन साउँद

सम्पादकीय 

नेपालका धेरैजसो शहर र गाउँहरूमा छाडा चौपायाको समस्या एउटा गम्भीर सामाजिक र पर्यावरणीय चुनौती बनेको छ। खासगरी, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा यो समस्या अझै प्रस्ट देखिन्छ, जहाँ सडकमा बेवारिसे गाईहरूको संख्या दिनानुदिन बढ्दो छ। यी पशुहरूले सडक अवरुद्ध पार्ने, सवारी दुर्घटनाको जोखिम बढाउने र किसानको बालीनाली नष्ट गर्ने जस्ता समस्याहरू सिर्जना गरिरहेका छन्।

गन्यापधुराको सहुखर्कदेखि अमरगढीको खसर्‍याखान सम्मको  सडक खण्डमा मात्रै करिब पाच सय देखि ७ सय सम्मको हाराहारीमा वेवारिसे गाईबस्तुहरू देखिनु सामान्य भइसक्यो  । दिनमा बजार क्षेत्रमा सवारी आवागमनमा अवरोध पुर्‍याउने र रातको समयमा सडकलाई नै गोठ बनाउने यी पशुहरूले सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढाएका छन्। यसरी सडकमा बेसाहारा भएका यी पशुहरूले किसानको मेहनत र लगानीमाथि सीधा प्रहार गर्दै बालीनालीमा क्षति पुर्‍याइरहेका छन्।

यस समस्याको जरो हाम्रो समाजको गैरजिम्मेवार मानसिकतामा छ। जबसम्म पशुहरू दूध दिने वा हलो जोत्न सक्ने हुन्छन्, तबसम्म उनीहरूलाई माया गर्ने र जब  अनुपयोगी भयो सडकमै छाडिदिने प्रवृत्ति बढ्दो छ। हाम्रो संस्कृतिले गाईलाई राष्ट्रिय जनावर मानेर सम्मान गरे पनि व्यवहारमा देखिएको यो गैरजिम्मेवारीले हाम्रो सामाजिक मूल्य र नैतिकतामाथि नै प्रश्न चिह्न खडा गरेको छ। नागरिकको गुनासो र सार्वजनिक सरोकारका बाबजुद पनि अमरगढी नगरपालिकाले यस विषयमा ठोस कदम चाल्न सकेको छैन, जसले समस्यालाई थप जटिल बनाएको छ।

यो समस्याको समाधानका लागि अब ढिलाइ गर्नु हुँदैन। यसका लागि पहिलो कदम भनेको बेवारिसे पशुहरूको उचित व्यवस्थापनका लागि व्यवस्थित गौशाला स्थापना गर्नु हो। जहाँ उनीहरूको खानपान, उपचार र हेरचाहको पूर्ण व्यवस्था गर्न सकियोस्। सँगै, नागरिकलाई पशुपालन केवल आर्थिक लाभका लागि नभई जीवनभरको जिम्मेवारी हो भन्ने कुरा बुझाउन जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। यसबाहेक, सडकमा पशु छाड्ने व्यक्तिलाई जरिवाना वा कानुनी कारबाहीको व्यवस्था गरी गैरजिम्मेवार प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, नगरपालिका, जिल्ला पशुसेवा कार्यालय, स्थानीय प्रहरी र अन्य सरोकारवाला संस्थाहरूबीच सशक्त समन्वय हुनुपर्छ, ताकि यो समस्याको दीर्घकालीन समाधान गर्न सकियोस्।

यो समस्या केवल अमरगढीको मात्रै नभएर सम्पूर्ण देशकै हो। विभिन्न शहर र गाउँहरूमा बेवारिसे गाईको दृश्य सामान्य भइसक्दा यसले सडक अवरोध, ट्राफिक जाम र दुर्घटना मात्रै होइन, सार्वजनिक स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ। गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गर्ने हाम्रो संस्कृतिमा यसरी सडकमा बेसाहारा छाड्नु केवल लापरवाही मात्र नभई नैतिक पतनको संकेत हो। यसको समाधान नागरिक र स्थानीय सरकार दुवैको सक्रियता र प्रतिबद्धतामा निर्भर छ। जबसम्म हामीले आफ्ना कर्तव्य र जिम्मेवारीको बोझ स्वीकार्दैनौं, तबसम्म यो समस्याको अन्त्य हुने छैन।  

प्रतिक्रिया