आठ किलोमिटरको जोखिमपूर्ण बाटो पार गरेर मात्रै विद्यालय पुग्छन् बालबालिका

बिगूल समाचारदाता

भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहसम्मको विद्यालय नहुँदा बालबालिकाले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालय पुग्नुपर्ने बाध्यता छ ।

कक्षा ९ मा अध्ययनरत सरिता बोहराले वर्षात्को समयमा विद्यालय आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको बताइन् । “गाउँमा कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ, त्यसपछि हामीले ब्रह्मदेवसम्म पैदल हिँड्नुपर्छ,” उनले भनिन्, “बर्खामा त बाढीपहिराले बाटो बन्द हुँदा विद्यालय जानै सकिँदैन । यसकै कारण साथीहरू धेरैले पढाइ छाडेका छन् ।”


विद्यार्थीहरूले जंगल र नदी किनारको बाटो समात्नुपर्ने भएकाले समूह बनाएर विद्यालय जाने गर्छन् । गाउँदेखि विद्यालयसम्म पुग्न १३ वटा खोला तर्नुपर्छ । हिउँदमा मोटरसाइकल वा अटोरिक्सा चले पनि बर्खामा बाटो पूर्ण रूपमा बन्द हुने भएकाले विद्यार्थीहरू पढाइबाट वञ्चित हुने गरेका छन् ।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा पढ्ने सपना ठकुल्लाले आठ किलोमिटर लामो जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बताइन् । “घरमा बिजुली नभएकाले पढ्नै गाह्रो छ, त्यसमाथि मेरा तीन साथी पढाइ छाडेर मजदुरीका लागि भारत गइसके,” उनले भनिन् ।

स्थानिय लोकबहादुर थापामगरका अनुसार बर्खा याममा पहिरो, खोला र चट्याङको जोखिम मोलेर भए पनि विद्यार्थीहरू विद्यालय जान बाध्य छन् । “गाउँमा माध्यमिक तहसम्मको विद्यालय नभएकै कारण धेरैले पढाइ छाडेका छन्,” उनले बताए ।

विपन्न समुदाय बसोबास गर्ने यो बस्तीका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्छन् भने महिलाले महाकाली नदीको किनारमा बालुवा र गिट्टी छानेर परिवार पाल्छन् । खल्ला मसेट्टी र टुँडिखेलमा करिब पाँच सय परिवार बस्छन् ।

हाल सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म, बैजनाथ मावि टुँडिखेलमा कक्षा ६ सम्म र भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुन्छ । तर स्थानीयले आफ्ना छोराछोरीलाई दुःख गरेर टाढा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै माध्यमिक तहको पढाइ विस्तार गर्न माग गरेका छन् ।


प्रतिक्रिया