डडेल्धुरा । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डडेल्धुरा जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी साधनको चेकजाँचलाई कडाइ गरेको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने र चालकको लापरवाहीले दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई न्यूनीकरण गर्न यो अभियान चलाइएको हो।
विशेषगरी, चाडपर्वमा विदेशबाट फर्कने नागरिक र अन्य यात्रुहरू ठगिने र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेकोले उनीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न यो जाँच गरिएको डडेल्धुरा जिल्ला ट्राफिक कार्यालय स्याउलेका प्रमुख श्यामराज बोहराले बताउनुभयो। उहाँका अनुसार, चेकजाँचका क्रममा सवारी साधनको अवस्था, सिट क्षमता र चालकको स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ।
संयुक्त चेकजाँच अभियानको क्रममा कागजपत्र नबोकेका, सिटबेल्ट नलगाएका, र सिट क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनलाई कारबाही गरिएको छ। यो अभियानमा करिब १५० वटा सवारी साधनको जाँच गरिएको थियो।
यस अनुगमनमा यातायात कार्यालय डडेल्धुरा, डडेल्धुरा जिल्ला ट्राफिक कार्यालय, स्वाउले स्वास्थ्य चौकी, र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। स्वाउले स्वास्थ्य चौकीले चालकहरूको आधारभूत स्वास्थ्य परीक्षणसमेत गरेको थियो । संयुक्तरूपमा यात्रु तथा चालकहरूलाई शुभकामना आदानप्रदान गर्दै सुरक्षित यात्राका लागि सुझाव पनि दिइएको थियो।