दलित समुदायका कृष्ण दमाई समावेशी शिक्षा सहजकर्ता नियुक्त

बिगूल समाचारदाता

डडेल्धुरा । संस्कृत विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका बैतडीका कृष्ण दमाईले धनगढी उपमहानगरपालिकामा समावेशी शिक्षा सहजकर्ताको जिम्मेवारी पाउनुभएको छ। उहाँलाई नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत छैटौं तहको पदमा नियुक्ति गरेको हो।

शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मिएका कृष्ण दमाई समाजका परम्परागत सोच र विभेदबीच संघर्ष गर्दै संस्कृत साहित्यमा २०७८ सालमा आचार्य उपाधि हासिल गर्न दाङसम्म पुगेका थिए। अध्ययनपछि बेरोजगार अवस्थामा रहनु भएका उहाँ विभिन्न धार्मिक अनुष्ठानमा प्रवचन गर्दै निजी विद्यालयमा अध्यापन गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको थियो।

नगरप्रमुख गोपी हमालले उहाँको आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले रोजगारीको अवसर दिने घोषणा गर्नुभएको थियो। सोही आधारमा हाल उहाँलाई ‘टिकाराम पार्की छात्रवृत्ति’ र ‘जुठे दमाई छात्रवृत्ति कार्यक्रम’ सञ्चालनका लागि सहजकर्ताको जिम्मेवारी दिइएको हो।

दमाई समुदायबाट संस्कृत पढ्नु नहुने भन्ने धारणा रहे पनि त्यसलाई चुनौती दिंदै उच्च शिक्षा हासिल गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “संस्कृत पढ्दा अनेकौं कठिनाइ सहनुपर्‍यो  अब जिम्मेवारी पाएको छु  इमान्दारीपूर्वक काम गर्छु।”

सानैमा आमाबुबा गुमाउनु परेका कारण आर्थिक कठिनाइ झेल्दै आएको उहाँले भविष्यमा संस्कृत भाषामा कर्मकाण्ड र ज्योतिष विद्यामा थप अध्ययन गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया