डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका-६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको अस्पतालबाट डिस्चार्ज भएको तीन दिनमै मृत्यु भएको घटनाले जिल्लामा शोक र गम्भीर प्रश्नहरू उठाएको छ।
डडेल्धुरा अस्पतालमा मंसिर २५ गते भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन्। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै भोलिपल्ट मंसिर २६ गते उनलाई डिस्चार्ज गरिएको थियो। तर डिस्चार्ज भएको तीन दिनपछि, मंसिर २९ गते बिहान उनी मृत अवस्थामा फेला परेकी हुन्।
अस्पतालबाट फर्किएपछि टमटा अमरगढी नगरपालिका-४ काजीधारामा आफ्ना ६० वर्षीय श्रीमान् भीमबहादुर टमटासँग बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार आइतबार साँझ पेट दुखेको भन्दै उनले श्रीमान्लाई जानकारी गराएकी थिइन्। त्यसपछि घरमै तेल लगाएर सुतेकी टमटा सोमबार बिहान उठ्न नसकेपछि मृत अवस्थामा फेला परेकी हुन्।
डडेल्धुरा अस्पतालले डिस्चार्जका बेला टमटाको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरेको छ। तर सुत्केरी अवस्थामा रहेको महिलाको यति छोटो समयमै मृत्यु हुनुले उपचार प्रक्रिया, निगरानी र डिस्चार्ज मापदण्डबारे प्रश्न उठाएको स्थानीयवासी तथा आफन्तहरूको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतकको पोस्टमार्टम रिपोर्टपछि वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ। यस घटनाले सुत्केरी महिलाको स्वास्थ्य सुरक्षामा थप सतर्कता र जिम्मेवारी आवश्यक रहेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
टमटाको माइति घर बझाङको थलारा गाउँपालिका २ खोली हो । भने भिम टमटाको उनी दोस्रो श्रीमति हुन । टमटाको पहिलो श्रीमतीको पनि मृत्युु भइसकेको छ ।