धनगढीमा जेनजी शहीदप्रति श्रद्धाञ्जली, सडकलाई ‘जेनजी मार्ग’ नामकरणको घोषणा

lalbigul.com

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा शहीद भएका वीर आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक प्रमुख सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने घोषणा गरेका छन्।

मेयर हमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टमा शहीदहरूको बलिदान केवल इतिहासमा सीमित नभई आजका पुस्ताको हृदयमा प्रेरणाको ज्योति बनेर उज्यालो फैलाइरहेको उल्लेख गरेका छन्। उनले न्याय, अधिकार र परिवर्तनका लागि जीवन अर्पण गर्नेहरूको साहसलाई सबैका लागि प्रेरणादायी रहेको बताएका छन्।

उनका अनुसार धनगढी-१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको महिला उद्यम बजार क्षेत्र) लाई ‘जेनजी मार्ग’ नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा पेश गरिनेछ।

शहीदको सम्मान स्वरूप अघि सारिएको यो निर्णयलाई उनले सम्पूर्ण नगरवासीले आत्मसात गर्दै उक्त सडक क्षेत्रमा ‘जेनजी मार्ग’ नाम प्रयोग गर्न पनि अपिल गरेका छन्।

धनगढी उपमहानगरपालिकाले ऐतिहासिक बलिदानको स्मरणमा सडक नामकरणको पहललाई महत्वपूर्ण कदमका रूपमा लिएको छ।

प्रतिक्रिया