नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा थापाले वर्तमान नेतृत्वको कार्यसमितिको म्याद नथपी मंसिरभित्र महाधिवेशन गर्ने एजेन्डा प्रस्तुत गरेका हुन्।
वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा समाप्त हुँदैछ। थापाले सभापति देउवालाई कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव बैठकमा राखेका छन्।
“महामन्त्री गगनजीले सभापतिज्यूलाई बाहिर राखेर कार्यसमितिको म्याद नथपी महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा प्रस्तुत गर्नुभएको छ,” बैठकमा सहभागी एक पदाधिकारीले बताए।
हाल उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको छ। बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला पनि सहभागी छन्। यो बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने अपेक्षा गरिएको छ।
सभापति देउवा हाल बैठकमा सहभागी भएका छैनन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले बुढानीलकण्ठस्थित उनकै निवासमा कुटपिट गर्दा उनको गर्दनमा गहिरो चोट लागेको थियो। चोटमा १२ टाँका लगाइएको र घाउ पूर्ण रूपमा निको नभइसकेकाले उनी बैठकमा उपस्थित नभएको नेताहरूले बताएका छन्।