धनगढीमा लैङ्गिकमैत्री कानून र बजेट निर्माणमा जोड दिदै अन्तरक्रिया कार्यक्रम सम्पन्न

lalbigul.com
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुदुरपश्चिम  प्रदेश सभा महिला समन्वय समितको आयोजनामा  दुई दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रममा कानून र बजेटलाई लैङ्गिकमैत्री बनाउनुपर्ने विषयमा जोड दिइएको छ ।
प्रदेश सभाको महिला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा  महिलाको अधिकार सुनिश्चित गर्न, विभेद र हिंसा अन्त्य गर्न लैङ्गिकमैत्री नीति, कानून र बजेटका सथै  निर्वाचन व्यवस्थापन विधेक माथि छलफल भएको हो ।

प्रदेश सभा सदस्य गीता देवी मालले स्वागत मन्तव्य राख्दै महिलामैत्री संविधान प्राप्त भए पनि समाजमा पितृसत्तात्मक सोच अझै विद्यमान रहेको बताइन् । उनले महिलाहरू सदनभित्र एकताबद्ध भएर अघि बढ्न नसके अधिकार सुनिश्चित गर्न कठिन हुने टिप्पणी गरिन् ।

अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य डा. बिन्दा पाण्डेले आफ्नो प्रस्तुति राख्दै महिलाविरुद्ध हुने हिंसा र विभेद अन्त्यका लागि प्रदेश सांसदहरूको अगुवाइमा अभियान चलाउनुपर्नेमा जोड दिइन्। उनले महिलाको क्षमता अभिवृद्धि, लैङ्गिकमैत्री कानूनको प्रचार–प्रसार, लैङ्गिक उत्तरदायी बजेट निर्माण, विश्लेषण र तालिम, साथै महिला नेतृत्व विकासमा सरकारले ध्यान दिनुपर्ने बताइन्।
कार्यक्रमकी अध्यक्ष समेत रहेकी एमाले संसदीय दलकी उपनेता सन्तोश शर्मा थापाले महिलामाथि भइरहेका हिंसाको अन्त्यका लागि प्रदेश सभाको महिला समन्वय समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। आगामी दिनमा छाउपडी प्रथा, दाइजो प्रथा, लागुऔषध दुर्व्येसनी, बालविवाह, बहुविवाह र महिला हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिदै, एकल महिला र बन्दी महिलाका समस्या समाधान, लैङ्गिक उत्तरदायी बजेटका लागि सरकारसँग निरन्तर संवाद गर्ने र महिलामैत्री कानूनहरूको बुकलेट प्रकाशन गरी वितरण गर्ने कार्यक्रम पनि तय गरिएको उल्लेख गरिन्।

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनुका पोखरेल, राष्ट्रिय सभा सदस्य रेणु चन्द, उपसभामुख कोइली चौधरी, संविधान सभा सदस्य डा‍. बिन्दा पाण्डे, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रमुख राजनैतिक दलका प्रतिनिध लगायतका विभिन्न  व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागीले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदेशसभाबाट महिला–मैत्री कानून निर्माण र कार्यान्वयन दुवैमा बल पुर्‍याउनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया