डोटी । विवाहको दबाब र धम्की सहन नसकी एक शिक्षिकाले आत्महत्या गरेकी छन्। डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत गणित शिक्षिका जानकी खड्काले आत्महत्या गरेकी हुन्।
सुसाइड नोटमा उनले जिल्ला शिक्षा समन्वय इकाई, डोटीमा कार्यरत शिक्षा अधिकृत गणेशबहादुर रावलले आफूलाई जबरजस्ती विवाह गर्न दबाब दिइरहेको र अस्वीकार गरेपछि “विवाह नगरे मारिदिन्छु” भन्ने धम्की दिएको उल्लेख छ।
जानकी खड्का डोटीको पूर्वीचौकी गाउँपालिका–१ की बासिन्दा हुन्। रावल डोटीकै शिखर नगरपालिका–११ निवासी हुन्। उनले खड्काकी दिदीलाई विवाहका लागि राजी गराउन नसकेपछि उनका भाइ प्रदीप खड्कालाई समेत धम्क्याएका थिए।
रावलको निरन्तरको मानसिक र शारीरिक दवाबपछि जानकीले गत १० कात्तिकमा घरभन्दा करिब ७ सय मिटर तल रहेको खोला किनारको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।
मृतककी बुबा चक्रबहादुर खड्काले शिक्षा अधिकृत रावलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएपछि प्रहरीले उनलाई ११ कात्तिकमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालका अनुसार, “जाहेरी परेपछि तत्काल पक्राउ गरिएको र आज (बुधबार) अदालतमा पेस गर्न तयारी भइरहेको” बताए।