डोटी। शिखर नगरपालिकाको आयोजनामा सम्पन्न सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी सिद्धेश्वर माध्यमिक विद्यालय, बानेडुग्रीशैनले जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। सिद्धेश्वर माविले प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित कूल २५ पदक सहित प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा राधाकृष्ण माध्यमिक विद्यालय, गोपघाट ले १० स्वर्ण, ७ रजत र ८ कास्य पदकसहित २५ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेकी ले ३ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित १२ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगितामा नगरपालिकाभरिका १५ वटा विद्यालयको सहभागिता रहेको थियो। अन्य विद्यालयहरूले पनि विभिन्न विधामा प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए। प्रतियोगितामा कुल ३० स्वर्ण, ३० रजत र ३१ कास्य पदक सहित ९१ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिता सिद्धेश्वर माध्यमिक विद्यालय, बानेडुग्रीशैनको खेलमैदानमा सम्पन्न भएको हो। प्रतियोगिताको उद्धाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गर्नुभएको थियो। भने समापन नगर प्रमुख दिर्घ बलायरले गरेका हुन
समापन कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख बलायरले आगामी दिनमा आयोजना हुने डोटी जिल्लास्तरीय १७ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि शिखर नगरपालिकाकै तलकोटमा हुने र त्यसको व्यवस्थापनको जिम्मेवारी स्वयं शिखर नगरपालिकाले लिने जानकारी दिए । उहाँले खेलाडीहरूलाई अनुशासनमा रहेर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै सबैलाई व्यापक तयारीमा जुट्न निर्देशन दिनुभयो।