कालापानीमा भारतीय हस्तक्षेप बन्द गर्न अनेरास्ववियु (क्रान्तिकारी) को माग

करन साउँद

नेपाल भारतको सिमा क्षेत्रमा पर्ने कालापानीमा लामो समय देखि दुई देशको सिमा  विबाद रहेको छ ।  दुई देशको बिवादित भुमि प्रयोग गरेर  नेपाललाई कुनै जानकारी बिना  भारत-चीन  ब्यापार  सम्झौता लगायतका विषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ।


अनेरास्ववियु (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै कालापानीमा भइरहेको भारतीय हस्तक्षेप बन्द गर्न र नेपालको सीमा रक्षाका लागि सरकारसँग पहल गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी सम्पूर्ण देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थीहरूलाई राष्ट्रियताको सवालमा एकताबद्ध हुन आग्रह गर्दछौं।”

भारतीय हस्तक्षेप, सीमा विवाद र नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा विदेशी शक्तिको बढ्दो प्रभावका बारेमा अनेरास्ववियु (क्रान्तिकारी)ले गहिरो  चिन्ता व्यक्त गरेको छ । कालापानी लगायतका नेपाली भूमिमा भइरहेको अतिक्रमणलाई रोक्न सरकारले तत्काल पहल गर्नुपर्ने र यसका लागि विद्यार्थी संगठनले सरकारसँग हातेमालो गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

संगठनका अध्यक्ष वीरबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षाका लागि हामी सधैं प्रतिबद्ध छौं।”

अनेरास्ववियु  (क्रान्तिकारी) ले नेपाली भूमिमा भइरहेको हस्तक्षेप रोक्नका लागि निरन्तर संघर्ष गर्ने र देशभक्त विद्यार्थीहरूलाई यस अभियानमा साथ दिन आह्वान गरेको छ। २०७७ सालमा नेपालको आधिकारिक नक्सामा समेत कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको छ। 

प्रतिक्रिया