देशका विभिन्न भागहरूमा लगातार वर्षासँगै पहाडी क्षेत्र देखि तराईसम्मका नदीनाला र खोल्सामा पानीको वहाव उल्लेख्य मात्रामा बढेको छ । कतिपय ठाउँमा स्थानीय बस्ती तथा खेतीयोग्य जमिन डुबानमा परेको समाचार आइरहेका छन् भने कतिपय सडक खण्डमा पहिरो र बाढीका कारण आवागमन पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
वर्षायाममा हुने प्राकृतिक प्रकोप केवल भौतिक संरचनामा मात्र क्षति पु¥याउँदैन, यसले मानवीय जीवनमा पनि गहिरो प्रभाव पार्छ । नदी, खोल्सो र नालाको वहाव बढ्नु भनेको बस्तीमा पानी पस्ने, घरहरूमा क्षति पुग्ने, पशुधन बगाउने, खेतबारी नष्ट हुने र यातायात पूर्णरूपमा ठप्प पार्ने खतरा हुनु हो । यस वर्षको वर्तमान अवस्थाले के देखाइरहेको छ भने यदि हामी समयमै सावधानी अपनाउन असफल भयौं भने धनजनको ठूलो क्षति हुन सक्छ ।
यस सन्दर्भमा, पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा नागरिकको सुरक्षालाई प्राथमिकता दिनु हो । कुनै पनि कारणले बाढी, पहिरो वा डुबानको जोखिम भएको क्षेत्रमा अनावश्यक रूपमा आवतजावत गर्नु हुँदैन । कतिपय अवस्थामा मानिसहरू बाढीको बहाव हेर्न, तस्बिर वा भिडियो खिच्न नदीको छेउमा पुग्छन्, जसले ज्यान नै जोखिममा पार्न सक्छ । यस्तो बेवास्ताले दुर्घटना निम्त्याउन सक्छ, जसको परिणाम अपूरणीय हुन्छ । त्यसैले, सजग रहनु नै जीवनरक्षाको पहिलो कदम हो ।
दोस्रो, घरमै सुरक्षित रहनुपर्ने अवस्थालाई हामीले कमजोरीको रूपमा होइन, जीवनरक्षाको अवसरको रूपमा लिनुपर्छ । घरभित्र बस्दा पनि, विद्युत् उपकरण, ग्यास सिलिन्डर, पिउने पानी, आपतकालीन औषधि, टर्च, मोबाइल फोनको ब्याट्रीजस्ता अत्यावश्यक वस्तुहरू तयार राख्नुपर्छ ।
तेस्रो, यात्रा गर्नैपर्ने अवस्था आयो भने, विशेष गरी लामो दूरीको यात्रा अघि बाटोको अवस्था, मौसमको विवरण र सम्बन्धित निकायको सूचनालाई अनिवार्य रूपमा हेर्नुपर्छ । नेपालका पहाडी सडकहरू वर्षायाममा धेरै संवेदनशील हुन्छन् । कहिले सडक बीचमै पहिरो खस्छ, कहिले पुल बगाउँछ, कहिले पहिरो पन्छ्याउन दिनौं लाग्छ यी सबै सामान्य उदाहरणहरू हुन् । यस्तो अवस्थामा धैर्य र सावधानी मात्रले दुर्घटना टार्न सक्छ ।
चौथो, नदी र खोल्सामा पानीको सतह बढ्नु भनेको तल्लो तटीय क्षेत्रका बस्तीहरू बढी जोखिममा हुनु हो । यस्तो क्षेत्रमा बसोबास गर्ने परिवारले समयमै सुरक्षित स्थानमा सर्न तयार रहनुपर्छ । बाढीको चेतावनी आएको छ भने “अहिले केही भएन, पछि हेर्छौं” भन्ने सोच राख्नु घातक हुन्छ ।
यसमा राज्यको दायित्व पनि उत्तिकै महत्वपूर्ण छ । सरकारका सम्बन्धित निकायले प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी, खानेपानी र आवश्यक राहत सामग्री समयमै पु–याउनु पर्छ । मौसम पूर्वानुमान र सम्भावित जोखिमबारे सूचना प्रवाह अझ प्रभावकारी हुन आवश्यक छ । अहिले जस्तै मोबाइल एसएमएस, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत चाँडो र स्पष्ट सूचना दिन सक्नुपर्छ ।
तर, प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउने जिम्मेवारी केवल राज्य वा उद्धारकर्मीको मात्र होइन, हरेक नागरिकको पनि हो । आफ्नो परिवार, छिमेकी र समुदायलाई जोखिमको बारेमा सचेत गराउनु, सानो गल्तीले ठूलो क्षति निम्त्याउन सक्छ भन्ने बुझेपछि मात्रै हामी सजग बन्छौं । यसरी सामूहिक सतर्कताले मात्र ठूलो क्षति कम गर्न सकिन्छ ।
अन्ततः, वर्षायाम केवल पानी र हरियालीको मौसम मात्र होइन, यो सतर्कता र तयारीको मौसम पनि हो । हामीले वर्षा थाम्न सक्दैनौं, तर यसबाट हुने क्षति अवश्य घटाउन सक्छौं । त्यो केवल समयमै सावधानी अपनाएर, जोखिमयुक्त स्थानबाट टाढा रहेर र आपतकालीन तयारी गरेर मात्र सम्भव हुन्छ ।
अहिलेको परिस्थिति गम्भीर छ देशका ठूला नदीहरूमा पानीको बहाव बढेको छ, सडकहरू अवरुद्ध हुने क्रम जारी छ, पहिरो र डुबानको जोखिम अझै छ । यस अवस्थामा, हरेक नागरिकलाई आग्रह छ अनावश्यक यात्रा नगर्नुहोस्, जोखिम भएको क्षेत्रमा नजानुहोस्, घरमै सुरक्षित रहनुहोस् र आवश्यक सावधानी अपनाउनुहोस् । जीवन एकपटक मात्रै हुन्छ, त्यसलाई बचाउन सावधानी भन्दा ठूलो उपाय अरू छैन ।