आलितालमा शिवको मूर्ति राख्ने विषयमा विवाद, अध्यक्षको प्रतिक्रिया

करन साउँद

डडेल्धुरा। डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा केही दिनदेखि शिवको मूर्ति राख्ने विषयलाई लिएर विवाद चुलिएको छ। पालिका अध्यक्ष शेरसिंह पार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मूर्ति राख्ने र श्रमदान सम्बन्धी गतिविधिमा स्थानीय सरोकारवाला तथा पालिकासँग समन्वय आवश्यक रहेको स्पष्ट पारेका छन्।

अध्यक्ष पार्कीका अनुसार, आलिताल धार्मिक आस्था बोकेको पर्यटकीय क्षेत्र भएकाले यहाँ कुनै पनि संरचना स्थापना गर्नुअघि सबै सरोकारवालासँग सल्लाह–सुझाव लिनुपर्नेमा महेन्द्र पुनमगरले पालिकालाई जानकारी नदिइ मूर्ति राख्ने प्रयास गरेको बताइएको छ। “श्रावण २४ गते मात्र म अन्य स्रोतबाट यसबारे जानकारी पाएँ र तत्पश्चात पुनमगर तथा हरिलाल थापालाई बोलाएर पालिकामा छलफल गरियो,” पार्कीले भने।

उक्त छलफलमा स्थानीय सरोकारवाला र पालिकाको सहमतिमा मात्र अघि बढ्ने निर्णय भए पनि, भोलिपल्ट पुनमगरले सामाजिक सञ्जालमार्फत ‘ठूलो षड्यन्त्र हुँदैछ’ र ‘पालिकाले मूर्ति राख्न दिएन’ भन्ने भ्रामक प्रचार गरेको अध्यक्ष पार्कीको आरोप छ।

पार्कीले पुनमगरलाई “तथ्यहीन र भ्रम फैलाउने गतिविधि रोक्न” आग्रह गर्दै, यदि श्रमदान वा कलात्मक योगदान गर्न चाहेको खण्डमा पालिकासँग सहमति गरेर प्राथमिकता तोकी काम गर्नुपर्ने बताए। उनले आलितालमा डुंगा व्यवस्थापन र पार्क निर्माण आवश्यक रहेको उल्लेख गर्दै, यसका लागि पालिकाले यस आर्थिक वर्ष ७० लाख रुपैयाँ बजेट छुट्याइसकेको जानकारी दिए।

अध्यक्ष पार्कीले मूर्ति स्थापना वा श्रमदानको नाममा राजनीतिक टिप्पणी गर्दै भ्रम फैलाउने कार्यलाई “निन्दनीय र घृणित” भन्दै रोक लगाउन आग्रह गरे। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि त्यसको दुरुपयोग गरेर अरुलाई बदनाम गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।

आलिताल गाउँपालिका धार्मिक तथा प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै पर्यटकीय आकर्षण बढाउने योजनामा रहेको छ। यहाँ वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछ।

प्रतिक्रिया