डडेल्धुरा । लगातारको वर्षाका कारण डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग र भीमदत्त राजमार्गमा पहिरो खसेर यातायात प्रभावित भएको छ।
गन्यापधुरा गाउँपालिका - २, रडुवा खोलामा पहिरो खसेपछि केआईसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । यसले गर्दा डडेल्धुरा हुँदै डोटी, अछाम, र बाजुरा जाने तथा आउने सबै सवारी साधन रोकिएका छन् र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
यसैगरी, डडेल्धुरालाई कैलालीसँग जोड्ने भीमदत्त राजमार्गमा पनि ढुंगा खसेर आंशिक रूपमा अवरुद्ध भएको छ। साहुखर्क र हगुल्टे क्षेत्रमा लगातार ढुंगा खसिरहेकोले यात्रा गर्न जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।
अहिले पनि वर्षा भइरहेकोले सडक खुलाउन केही समय लाग्ने बताइएको छ। पहिरो हटाउने काम भइरहे पनि लगातारको वर्षाले गर्दा उद्धार कार्यमा बाधा पुगेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिएको छ।
01 Sep 2025, Monday