बैतडी। पाटन नयाँ सहर आयोजना सुरु भएको १४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आयोजनाको मुख्य काम मानिने ल्यान्डपुलिङ (जग्गा एकीकरण) अझै टुङ्गोमा नपुगेपछि आयोजना अनिश्चित बनेको हो ।
२०६८ सालदेखि सुरु गरिएको आयोजनाले ल्यान्डपुलिङको विवाद समाधान नगरी निर्माण गरेका संरचनाहरू उपयोगविहीन बनेका छन् । आयोजनाले निर्माण गरेको बसपार्क, हीरापुर मनोरञ्जन पार्क, सडक र खुला मञ्चजस्ता संरचना सञ्चालनमा आउन सकेका छैन।
आयोजनाले हालसम्म करिब ५० करोड रुपियाँ बराबरका संरचना निर्माण गरिसकेको छ । तर ती संरचनाहरू प्रयोगमा नआउँदै जीर्ण बन्दै गएका छन् । हीरापुर मनोरञ्जन पार्क र बसपार्क दुबै जीर्ण अवस्थामा पुगेका छन् । बसपार्कलाई यो वर्ष रंगरोगन गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको आयोजनाका निमित्त प्रमुख रुद्रनारायण दासले बताउनुभयो ।
ल्यान्डपुलिङका लागि पाटन नगरपालिका–६ का स्थानीयहरूसँग पटक पटक छलफल भए पनि सहमति जुट्न नसकेकाले आयोजना अघि बढ्न नसकेको उहाँको भनाइ छ । नगरप्रमुख गौरीसिंह रावलका अनुसार, जग्गा एकीकरणको विवाद समाधान गर्न नगरपालिकाले निरन्तर प्रयास गरे पनि अन्तिम टुङ्गोमा पुग्न नसकिएको हो ।
उहाँका अनुसार, आयोजनाले व्यवस्थित बसोबासका लागि बाटो, उद्यान र अन्य पूर्वाधार निर्माण गरी स्थानीयलाई घडेरीका रूपमा जग्गा हस्तान्तरण गर्ने योजना थियो । तर जग्गा एकीकरणको प्रक्रिया टुंगिन नसक्दा आयोजनाको लक्ष्य पूरा हुन सकेको छैन ।
पहाडको बसाइँसराइ रोक्ने उद्देश्यका साथ सुरु गरिएको पाटन नयाँ सहर आयोजनाबाट शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको थियो । तर, ती सबै योजना कागजमै सीमित रहँदा स्थानीय निराश बनेका छन् ।
सरकारले पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहर विकास गर्ने योजना अघि सारेको थियो ।
पाटनमा निर्माण भएका करोडौँका संरचना अहिले प्रयोगविहीन छन् । आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको बसपार्क ११ वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । ढिलासुस्तीको विरोधस्वरूप पाटनवासीले यो वर्ष धान दिवसकै दिन बसपार्कमै रोपाइँ गरेका थिए ।
त्यस्तै, करिब दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको हीरापुर मनोरञ्जन पार्क पनि सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, १७ करोड रुपियाँ लागतमा पुनर्निर्माण गरिएको पाटन विमानस्थल हवाई उडान नहुँदा प्रयोगविहीन बनेको छ ।