डडेल्धुरा । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य विधिवत् रूपमा सुरु गरेको जनाएको छ।
आगामी निर्वाचनलाई लक्षित गरी कार्यालयले २०८२ साल असोज १० गतेदेखि असोज ३० गतेसम्म नाम दर्ता तथा विवरण अद्यावधिक गर्ने कार्य तालिका सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार, यस अवधिभर इच्छुक व्यक्तिहरूले हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा लिन सक्नेछन्।
दर्ताका लागि आवश्यक कागजात र प्रक्रिया
निर्वाचन आयोगले नामावलीमा नाम दर्ता गर्न वा विवरण अद्यावधिक गर्न चाहने सम्पूर्ण नागरिकलाई अनिवार्य रूपमा नेपाली नागरिकता प्रमाणपत्र लिएर उपस्थित हुन अनुरोध गरेको छ।
विशेष गरी, नाम दर्ता गर्दा रजिष्ट्रीकृत नाममा फरक परेमा सोको प्रमाणको रूपमा विवाह प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाण पेस गर्नुपर्नेछ। यस्तै, नामावलीमा रहेको विवरण परिमार्जन वा अद्यावधिक गर्नका लागि आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
अनलाइनबाट पनि दर्ता गर्न सकिने
भौतिक रूपमा कार्यालयमा उपस्थित हुन नसक्ने वा अनलाइन माध्यमबाट सहजता खोज्ने नागरिकका लागि निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मार्फत पनि नाम दर्ता तथा विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध छ।
वेबसाइटमा गएर आवश्यक विवरण भरेपछि ‘Submit’ गरेर प्राप्त हुने ‘Submission Number’ सहित तोकिएको समयमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई औपचारिकता पूरा गर्न सकिनेछ। यस वेबसाइटबाट नामावलीमा रहेको विवरण परिमार्जन तथा अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध छ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सहज बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै, सबै नागरिकलाई तोकिएको समयभित्रै आफ्नो नाम दर्ता गराई आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।