साना किसान समूहका पदाधिकारीलाई नेतृत्व विकास तालिम सम्पन्न

बिगूल समाचारदाता

डडेल्धुरा । डडेल्धुरा परशुराम नगरपालिका अन्तर्गत गठन भएका साना किसान समूहका अध्यक्ष तथा पदाधिकारीलाई लक्षित गरी आयोजना गरिएको समूह व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा स्थानीय अधिकार परियोजना अन्तर्गत दुई दिनसम्म सञ्चालन भएको तालिम आज (सनिवार) समापन गरिएको हो। तालिममा लक्षित समुदायका स्थानीय महिला, दलित, जनजाति तथा आदिवासी समुदायमा गठित साना किसान समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा स्थानीय अधिकार कार्यक्रम ४८ का परियोजना संयोजक धनबहादुर भण्डारीले समुदाय आफैंले विकास निर्माण र व्यवस्थापनको नेतृत्व लिन सक्ने क्षमताको विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताए। आफ्नै दिनचर्या र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँदै समुदायलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

बहुउद्देश्यीय विकास समाज डडेल्धुरा अन्य संघसंस्था र परियोजनाभन्दा फरक ढंगले समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै हाल परशुराम नगरपालिकाका चार वडाका १४ समुदाय, १४ विद्यालय, मजदुर, घरायसी कार्यबोझमा रहेका परिवार, बालबालिका, किसान, जैविक पर्यावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको जानकारी दिइयो। गरिबी निवारण र घरायसी कार्यबोझ घटाउन आयआर्जनमूलक कार्यक्रममा समेत सहयोग गर्दै आएको परियोजना संयोजक भण्डारीले बताए।

तालिममार्फत लक्षित समुदायभित्रबाटै नेतृत्व विकास गरी स्थानीय सरकार तथा विभिन्न सरकारी निकायसँग समन्वय गर्दै विकास निर्माणका काममा अग्रसर गराउने उद्देश्य लिइएको आयोजकले जनाएका छन्।

समापन कार्यक्रममा बहुउद्देश्यीय विकास समाजका अध्यक्ष अशोक बमले नेपालको संविधान २०७२ ले प्रदत्त मौलिक अधिकारबारे समुदायलाई सचेत बनाउँदै आत्मनिर्भर र सक्षम नागरिक निर्माण गर्नु संस्थाको मुख्य लक्ष्य रहेको बताए।

संस्थाले एक्सनएड नेपालसँगको साझेदारीमा परशुराम नगरपालिकाका विभिन्न समुदायमा कार्यक्रम सञ्चालन गर्दै आएको र सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लामा निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष बमले जानकारी दिए।

प्रतिक्रिया