बैतडी । लगातारको वर्षा संगै आएको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
देहिमाडौँ- गिरेगडा सडकखण्ड अन्तरगत दशरथचन्द नगरपालिका- २ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उनले बताए ।
उनले भने, “हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।” आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उनले बताए ।
बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।