विश्वकप छनोटको सुपर सिक्समा नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

lalbigul.com

डडेल्धुरा । टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । आजको खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको हो । पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ५६ रनको साझोदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

२६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्सित कौशिकको बलमा एलबीडब्लु धरापमा परे । १९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे ।

आशिफ शेख ५१ रन बनाउँदा ध्रुभ पारासरको बलमा बोल्ड आउट भए । ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के । दीपेन्द्र सिंह ऐरी १ रनमा क्याच आउट भए । त्यसैगरी गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे ।

१८औँ ओभरमा गुल्सनले पहिलो बल डट राखे । दोस्रो बलमा चौका, तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे । तर पाचौँ बलमा क्याच आउट हुन पुगे । कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे ।

यूएईका लागि हर्षित कौशिक, ध्रुव पराशर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक विकेट आफ्नो नाममा गरे । युएईले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

प्रतिक्रिया