अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पुनः सक्रिय गर्ने अमेरिकाको निर्णयको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’, ‘एमसीसी परियोजना खारेज गर’, ‘विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाएका थिए। पार्टीका नेता तथा कार्यकर्ताहरूले एमसीसीलाई आर्थिक सहायताको नाममा नेपालको नीति, प्रशासन र स्रोतसाधनमाथि विदेशी नियन्त्रण स्थापना गर्ने योजनाको हिस्सा भएको आरोप लगाए।
नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले एमसीसी नेपालका लागि हितविपरीत रहेको दाबी गर्दै, “यो परियोजना अमेरिकी सैन्य–रणनीतिक हितसँग गाँसिएको छ, त्यसैले दवावका कारण ठूला दलहरूले यसलाई अघि बढाए” भने। उनले यसअघि नेपालमा स्थगित गरिएको परियोजना फेरि सक्रिय गर्ने अमेरिकी कदम राष्ट्रहित र स्वाधीनताविरुद्ध भएको भन्दै पार्टीले निरन्तर विरोध गर्ने चेतावनी दिए।
एमसीसी परियोजना २०७४ सालमा नेपाल र अमेरिकाबीच सम्झौता भई अघि बढाइएको हो। ५० करोड अमेरिकी डलरको अनुदानमा निर्माण हुने यो परियोजनाअन्तर्गत मुख्यतः ३१२ किलोमिटर लामो प्रसारण लाइन र सडक सुधार कार्य समावेश छन्। तर यसको राजनीतिक र रणनीतिक प्रभावका कारण नेपालमा लामो समयदेखि विवाद रहँदै आएको छ। आलोचकहरूले यसलाई अमेरिकी ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’सँग जोडेर व्याख्या गर्दै आएका छन् भने समर्थकहरूले यसलाई मात्र पूर्वाधार विकासका लागि आवश्यक सहयोगका रूपमा लिने तर्क गर्छन्।
एमसीसीलाई २०७८ सालमा संसदबाट अनुमोदन गरिएको भए पनि त्यसअघि र पछि पनि यसको विरोध जारी रहँदै आएको छ। विप्लव नेतृत्वको नेकपाले यसलाई राष्ट्रिय स्वाधीनतामाथिको आक्रमणका रूपमा व्याख्या गर्दै सडक आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।