कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

lalbigul.com

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१४, बनकट्टीकी ४५ वर्षीया धाना विष्टको हात्तीको कुल्चाइबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मङ्गलबार बिहान करिब ३ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले नन्दलाल विष्टको कच्ची घर भत्काएको थियो। अँध्यारो समयमा घरभित्र हात्ती पसेपछि बाहिर निस्कने क्रममा विष्टकी श्रीमती धानालाई हात्तीले दाहिने खुट्टा, कुम र पिठ्युमा कुल्चेको थियो।

गम्भीर घाइते धानालाई प्रहरी चौकी झुलुङ्गे र मझगाउँ ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा मङ्गलबार बिहान करिब ५ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस घटनापछि बनकट्टी स्याउले क्षेत्रका स्थानीयवासीहरू त्रसित बनेका छन्। पछिल्लो समय जङ्गली हात्तीको आतंक बढ्दै जाँदा स्थानीयको ज्यान जोखिममा परेको उनीहरूको गुनासो छ।

प्रतिक्रिया