डडेल्धुरा असोज ८। दशैँको पूर्वसन्ध्यामा डडेल्धुराको अजयमेरू गाउँपालिकामा विपन्न तथा असहाय परिवार र विद्यार्थीलाई राहतसामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ।
भक्त बीबी फर ह्युम्यानिटीले अजयमेरू गाउँपालिकाको वडा नम्बर १ देखि ६ भित्रका दृष्टिविहीन, अपांग, टुहुरा, मानसिक रोगी, अनाथ, एकल महिला-पुरुष, वृद्धवृद्धा र असहाय व्यक्तिहरूलाई खाद्यान्नलगायतका सामग्री र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई कापी, कलमसहितका शैक्षिक सामग्री वितरण गरिएको हो।
संस्थाका प्रतिनिधि संकर भण्डारीका अनुसार, कुल ३२ घरपरिवारलाई खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। राहत सामग्रीमा चामल, दाल, तेल, नुन, साबुन, चिनी, चियापत्ती, सोडा, सलाई, मसला, कोलगेट, ब्रस र गुड लगायत अतिआवश्यक समाग्री वितरण गरेको उनले भने ।
अजयमेरू गाउँपालिका - १, खतेडाकी बसन्ती पाण्डेले भनिन् “दशैँ नजिकिँदै गर्दा नुन-तेलको जोहो कसरी गर्ने भन्ने चिन्ता थियो। यो राहतले हामीलाई चाडपर्व मनाउन र दुई गास मीठो-मसिनो खान सहज बनाइदिएको छ।”
कार्यक्रम ‘भक्त बीबी फर ह्युम्यानिटी’ संस्थाले आयोजना गरेको हो। संस्थाका संरक्षक भक्त बहादुर भण्डारीको सक्रिय पहलमा भएको यस सहयोगमा राहात प्राप्त गर्ने सबैजनाले धन्यवाद व्यक्त गरेका छन्।