डडेल्धुरा। अमरगढी नगरपालिकाले पुस महिनाको दोस्रो साता राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार बसेको अमरगढी नगरपालिका राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता निर्देशन समितिको बैठकले पुस ७ र ८ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
नगर प्रमुख डिल्लीराज जोशीको अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, जिल्ला स्थित विभिन्न खेल संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
छैटौँ अमरगढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा विद्यालयहरूको सहभागिता रहने छ। प्रतियोगिता अमरगढी नगरपालिका–०४ स्थित टुँडिखेलमा सञ्चालन गरिने निर्णय गरिएको छ।
बैठकमा प्रतियोगितालाई व्यवस्थित, मर्यादित तथा सफल रूपमा सम्पन्न गर्न आवश्यक तयारी, सहयोग तथा सहकार्यका विषयमा छलफल गरिएको थियो। बैठकको समापनमा बोल्दै नगर प्रमुख जोशीले भने खेलकुदको विकास र विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले प्रभावकारी भुमिका खेल्ने भन्देै सबै विद्यालयलाई उल्लेख्य सहभागिता जनाउन निर्देशन दिनु भयो ।