सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा झण्डै हातहालाहाल

करन साउँद

काठमाडौंको रिपोर्टर्स क्लबमा जेनजी अभियन्ता सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा हंगामा मच्चिएको छ।

गुरुङले “हामी नेपाल” नामक संस्थाको तर्फबाट आफ्ना गतिविधि र आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिन पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रममा मृतक परिवारका सदस्यसँग गुरुङले संवाद गरिरहेका बेला केही पत्रकार र उपस्थित व्यक्तिहरूले उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि वातावरण तनावग्रस्त बनेको थियो। यस क्रममा धकेलाधकेल समेत भएको र झण्डै हातहालाहालको अवस्था सिर्जना भएको बताइएको छ।

कार्यक्रमका क्रममा एक व्यक्तिले प्रश्न गर्दै भने, “ठूलो परिवर्तन भयो भन्नुभयो, तर ५१ जनाको ज्यान लिएर आएको परिवर्तन यो ६ महिनाका लागि मात्र हो ?” भन्ने प्रश्न सोधेका थिए। सो प्रश्नमा गुरुङ आक्रोशित हुँदै जवाफ फर्काएका थिए, “हामी फेरि आन्दोलन गर्छौं। नेताहरुलाई घरबाट निस्कनै दिन्नौं। मैले मान्छे मारेको होइन।”

उक्त घटनापछि उपस्थित सबै आ–आफ्नै धारणा राख्न थालेपछि परिस्थिति थप उत्तेजित भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीलाई बोलाउनुपरेको र गुरुङलाई सुरक्षा दिँदै सभाहलको एक कुनामा राखिएको क्लब स्रोतले जनाएको छ।

गुरुङले आफूलाई तिब्बती स्वतन्त्रता पक्षधर वा भारतीय नागरिक भनेर लागेको आरोप असत्य भएको दाबी गर्दै रिपोर्टर्स क्लबमार्फत स्पष्टिकरण दिएका थिए। तर उनको अभिव्यक्ति र प्रतिक्रियाले पत्रकार सम्मेलन नै तनावग्रस्त बनेको र झगडाझैँ स्थिति सिर्जना भएको बताइएको छ।

प्रतिक्रिया