बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो

lalbigul.com

बैतडी । जिल्लाका चौपायामा लम्पी स्कीन र खरी रोग (धुलखुले, चौखुरी) पुनः देखिन थालेका छन्। सबै स्थानीय तहका पशुमा सङ्क्रमण फैलिन थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिए।

प्रमुख पन्तका अनुसार खरी रोग विशेषगरी दूधालु बधुवा भैँसीमा जाडो र गर्मी दुवै मौसममा देखिने गरे पनि पहाडी डाँडाकाँडामा बढी फैलिने गरेको छ। यो रोग लागेपछि पशु दुब्लाउँदै जान्छ र उत्पादन क्षमतामा कमी आउँछ।

खरी रोग सारकोप्टिक माइटका कारण हुने भएकाले अन्य रोगभन्दा बढी कष्टदायक हुन्छ। माइट छालाभित्रसम्म पुगेर बाक्ला कत्ला बनाउँछ, जसका कारण छालामा पाप्रा देखिने, घाउ हुने, छाला खस्रो र सुख्खा हुने लक्षण देखिन्छ। नेपाल कृषि अनुसन्धान परिषद्को पशु स्वास्थ्य अनुसन्धान महाशाखा, खुमलटारले सन् २०४५ सालदेखि यस रोगमाथि अनुसन्धान गर्दै आए पनि हालसम्म ठोस उपचार पद्धति विकास हुन सकेको छैन पन्तले भने ।

जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि पुनः देखिन थालेको छ। लम्पी स्कीन लागेका चौपायामा १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, शरीरमा साना–ठूला फोका निस्कने, खुट्टा, पातो र घाँटी सुन्निने, तथा विस्तारै घाँस खान छाड्ने जस्ता लक्षण देखापर्छन्।

 लम्पी स्कीन संक्रमित पशुबाट नजिकका अन्य पशुमा सजिलै फैलिन सक्ने भएकाले सावधानी अपनाउन भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीले सबै कृषकहरूमा सुचुचित गरेको  छ।

प्रतिक्रिया