डडेल्धुरा । माओवादी जनयुद्धका सहिद जय राज भट्ट (क. विनय) की छोरी पूजा भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्देशित गर्दै भावुक खुला पत्र सार्वजनिक गरेकी छन्।
पत्रमा उनले बाबाको बलिदान, आमाको साहस र संकटकालीन समयमा परिवारले भोग्नुपरेको पीडादायी अनुभवलाई उल्लेख गर्दै प्रचण्ड नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्।
पूजाले लेखेकी छन्, “मेरा बाबा ३६ वर्षको उमेरमा देशका लागि सहिद हुनुभयो, म त्यतिबेला सात वर्षकी थिएँ। आमाले बाबाको मृत्यु पश्चात् बन्दुक बोकेर युद्धमा होमिनुभयो। तर शान्ति सम्झौतापछि सपना क्रमशः धुमिल हुँदै गयो।”
उनले संकटकालमा परिवारले भोगेको कठिनाइ स्मरण गर्दै भनेकी छन्, “पुलिसहरूले घर पसेर हजुरबुबा हजुरआमालाई सताए । भकारी छिलविल पारिदिए। हामीलाई निरन्तर धम्की दिइयो। बाबाको मृत्युपछि आमा र हजुरआमाले खुलेर आँसु झार्न पनि पाएनन्।”
हालै सम्पन्न जेन–जी आन्दोलनलाई जोड्दै उनले शीर्ष नेताहरूप्रति असन्तोष प्रकट गरेकी छन्। पूजाले लेखेकी छन्, “आज मेरो पुस्ताले गरेको आन्दोलनले प्रष्ट देखाएको छ कि शेरबहादुर देउवा, केपी ओली र प्रचण्डका हर्कत एउटै छन्। कम्तिमा प्रचण्ड भने अरुजस्ता होइनन् भन्न सक्ने अवस्था छैन।”
प्रचण्डलगायत नेताहरूको जीवनशैलीप्रति प्रश्न उठाउँदै उनले भनिन्, “सोझा साझा किनारा लाग्दै गए, आसेपासे मोटाउँदै गए, नेताहरू बंगला माथि बंगला थप्दै गए। तर सहिद परिवारको सपना अधुरो रह्यो। नेताहरूको रवैया हेर्दा पीडा सहन सक्ने अवस्था छैन।”
अन्त्यमा उनले प्रचण्डलाई कटाक्ष गर्दै भनिन्, “हजुरबा! तपाईँहरूको मुकुण्डो उदाङ्गो भइसकेको छ। तपाईँहरूको घर सम्पत्ति जलेको पीडाभन्दा हजारौं सहिद परिवार र कार्यकर्ताको भावना जलेको पीडाले म छट्पटीएकी छु।”
पूजाले आफू नयाँ नेपाल चाहने पुस्ताकी प्रतिनिधि भएको बताउँदै आफ्नो पत्रमा धन्यवाद दिंदै सहिद परिवारको पीडालाई सार्वजनिक रूपमा उजागर गरेकी छन्।
पुजाले लेखेको खुुल्लापत्र:-
पृय हजुरबुबा प्रचण्ड !
छिया छिया भएको मुटुवाटै लाल सलाम!!
मेरा बाबा सहिद(जयराज भट्ट क.विनय)हुदा जम्मा म सात बर्षकि थिए 😥 मेरो बाबाले ३६ बर्षको उमेरमा यो देशको लागि बलिदान गर्नु भो मेरो आमा जम्मा २६/२७ बर्षकी थिईन ।हामीले न बाबाको लास देख्न पायौ न सास नै पार्टीको जिम्मेवारी कै सिलसिलामा बझाङ बाझ गाविस को सनसिउमा हत्या भएको खबरले मेरो हजुर आमा र मेरी आमाले खुलेर आखाको आशु झार्न पनि पाउनु भएन।
मलाई झिनो सम्झना छ शिरक भित्र मुख छोपेर मेरीआमाले ग्वाँ-ग्वाँ रोएको ।बाबाले देखाएको बाटोमा मेरो काकाहरु हिड्नु भयो। साईलो काका (खगराज भट्ट)०५२ साल मै जेलको कठोर यताना भोग्नु भयो । मलाई सम्झना छ संकटकाल भरी रात दिनको पुलिसहरुको टर्चर घरमा आएर " तेरा अरुछोरा कहाँ छन घर बोलाउ नत्र जेठो छोरा मारे झै मारि दिन्छौ" भनेर मेरो हजुरआमा र हजुरबुबालाई सताएको अनि घरमा भएका अन्नका भकारी छिलविल पारेको...उफ अन्तत्वगत्वा बाबाले हामिलाई छोडेको केही महिना मै मेरी आमा पनि बाबाको बन्दुक बोक्ने साहास गरेर अंकलहरु सगै युध्दमा हिन्नु भयो र पनि कहिल्यै निराश भइएन मेरो बाल मानसपटलमा नेपालमा केही हुन्छ सबैले सुख पाउँछन् नेपाली जनता दासताको जन्जिरबाट मुक्त हुन्छन भन्ने दृढ विश्वास थियो तर यो सपना सान्ति सम्झौता सगै विस्तारै धुमिल हुँदै गयो ।
पृय हजुरबुबा प्रचण्ड
सोझा साझा किनारा लाग्दै गए आसेपासे मोटाउदै गए आदर्श मानिएका नेताहरु दिनानुदिन स्खलित हुँदै गए बंगला माथि बंगला थप्दै गए । आज मेरो बाबाको सपना अधुरो रह्यो नेताहरुको रबय्या बढ्दै गयो । यो कुरा म र मेरोपरिवारको लागि असह्यो थियो आज मैले, मेरो पुस्ताले गरेको दुईदिनको जेन-जी आन्दोलनले सिर्स भनिएका नेता शेर बहादुर देउवा, केपि वली अझ भनु मेरो बाबाले प्राणको आहुति दिएर बनेको पुष्प कमल दाहाल उर्फ प्रचण्डका हर्कत एउटै देख्नको पीडा सहि नसक्नु छ😥कम्तिमा प्रचण्ड सेर बहादुर केपि वली जस्ता होईनन भन्न सक्ने हालतमा म छैन । प्रचण्ड हजुरबा तपाईहरुको मुकुण्डो पनि उदाङ्गो भएको छ । तापाईहरुको घर सम्पति जलेको पीडा भन्दा हजारौं अवसर नपाएका शहिद परिवार घाईते र योगदान गर्ने नेता कार्यकर्ताको भावना जलेको पीडा ले छट्पटीएको छु।
धन्यवाद
उहीँ नयाँ नेपाल चाहने पुजा भट्ट(शहिद जयराज भट्टको छोरी) अजयमेरु-४ डडेल्धुरा