बालेन र सुदन गुरुङविरुद्ध अनेरास्ववियुको जाहेरी

बिगूल समाचारदाता

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको छ ।

अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले जाहेरी लिएर प्रहरी कार्यालय पुगेका हुन् । उनीहरूले हालै सरकारी कार्यालयमा भएका गतिविधि र ‘अभद्र व्यवहारसम्बन्धी’ मुद्दामा दुवै जनाको संलग्नता रहेको दाबी गर्दै प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

पूर्वअध्यक्ष बडालका अनुसार प्रहरीलाई जाहेरी बुझाइसकिएको छ तर तत्काल दर्ता गरिएको छैन । “प्रहरीले सरकारी वकिलसँग छलफल गरेर मात्र निर्णय लिने जनाएको छ,” उनले भने, “२४ घण्टा भित्र जाहेरी दर्ता नभए थप कानुनी प्रक्रिया अघि बढाउँछौं ।”

त्यसैगरी महासचिव दीपक धामीले पछिल्ला घटनाबारे अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, “कुनै मान्छेले हुंकार गरेकै भरमा सरकारी कार्यालय चल्दैन । विधिको शासन हुनुपर्छ । सरकारी निकायमा छिरेर उर्दी जारी गर्नु अस्वीकार्य कुरा हो । दलीय राजनीति बाहिर छु भनेर सरकारी कार्यालयमा हुकुमी शैली चल्दैन ।”

उनका अनुसार अनेरास्ववियुले विधि र संविधान विपरीतका सबै गतिविधिको विरोध गर्दै कानुनी माध्यमबाट प्रतिवाद गर्नेछ ।

प्रहरीले भने जाहेरीबारे प्रारम्भिक अध्ययन भइरहेको र सरकारी वकिलको सल्लाहअनुसार मात्र दर्ता वा कारबाहीको निर्णय गरिने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया