डडेल्धुरामा अमर प्रहरीप्रति श्रद्धाञ्जली तथा सम्मान गर्दै ७०औँ प्रहरी दिवस सम्पन्न

बिगूल समाचारदाता

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा आज वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुण बहादुर सिंहको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, अमर प्रहरीका आश्रित परिवारजन, अशक्त पूर्व प्रहरी, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा डीएसपी सिंहले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै शोक सलामी अर्पण गर्नुभएको थियो। सोही क्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारी, अमर प्रहरीका आश्रित परिवारजन र पूर्व प्रहरीहरूले पनि पुष्पगुच्छा अर्पण गरी अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अमर प्रहरीको योगदानको कदरस्वरूप डीएसपी सिंहले अमर प्रहरीका आश्रित परिवारजनहरूलाई कदर पत्र प्रदान गर्नुभयो।

त्यसैगरी, प्रहरी दिवसकै अवसरमा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमका क्रममा प्रहरी निरीक्षक डम्बर बिष्टले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि डीएसपी सिंहले आमन्त्रित अतिथि तथा सहभागिलाई धन्यवाद ज्ञापन गरेपछि जलपानसहित कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया