डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक लाख रुपैयाँ धरौटी तोकेको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार अदालतमा उपस्थित भएका सोडारीमाथि थुनछेक बहस भएपछि धरौटी मागिएको हो। सोडारीले धरौटी बुझाएपछि उनी रिहा भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १० गते सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगको सोडारीले सार्वजनिक पदमा रहेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप सहित मुद्दा दायर गरेको थियो ।
आरोपपत्रमा उल्लेख भएअनुसार, २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा सोडारी तथा उनका परिवार सदस्यले बैंक मौज्दात, पारिश्रमिक बचत, भ्रमण भत्ता, कृषि आय, श्रीमती र छोराछोरीको आय, आमाबुबाको सामाजिक सुरक्षा भत्ता र ब्याज आयमार्फत ८५ लाख ५१ हजार ३३४ रुपैयाँ वैधानिक आम्दानी गरेका देखिन्छ।
तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण र सजावट, छोरीको अध्ययन, श्रीमती सञ्चालित उद्योगमा लगानी, बीमा प्रिमियम, निर्वाचन खर्च, छोराको विवाह खर्च, शेयर लगानीलगायतका शीर्षकमा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको खर्च र लगानी गरेका देखिएको आयोगले जनाएको छ। यसरी कुल खर्च आम्दानीभन्दा एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बढी भएकाले सो रकमको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले दाबी गरेको हो।
आयोगले सोडारीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै मुद्दा दायर गरेको हो।
सोडारी कैलालीबाट लगातार दुईपटक प्रदेशसभा सदस्यमा विजयी भएका छन्। अघिल्लो कार्यकालमा उनी सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए भने दोस्रो कार्यकालमा तीन महिनासम्म मुख्यमन्त्रीसमेत बनेका थिए।
18 Aug 2025, Monday