बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडामा किसानहरूले करोडौँको लगानीमा उत्पादन गरेको स्याउ बजार अभावका कारण गाईगोरुलाई खुवाउन बाध्य भएका छन्।
पर्यटकीय क्षेत्रको नजिकै उत्पादन गरिएको स्याउ बिक्रीका लागि सडक र बजार नहुँदा किसानहरू निराश बनेका छन्। स्थानीय स्याउ किसान वीरबहादुर रावलका अनुसार बजार नपाएपछि टिपेको स्याउ गाईगोरुको आहारामा प्रयोग गर्नुपरेको छ।
रावलले सन् २०७६ फागुनमा धौलछडान नजिकको १२० हेक्टर जमिनमा इटालीबाट ल्याइएको हाइटेन्सी जातका छ हजार बोट स्याउ रोपेका थिए। “रोपेको वर्षमै फल लाग्न थालेको थियो, तर बजार नै छैन,” उहाँले भन्नुभयो।
करीब एक करोड २० लाख रुपैयाँको लगानीमा उत्पादन भएको स्याउ बजार अभावका कारण नष्ट हुँदै गएको रावलले बताउनुभयो। उनका अनुसार काँडामा उत्पादन भएको स्याउले सुदूरपश्चिमका विभिन्न बजार तीन महिनासम्म धान्न सक्थ्यो।
रावल अहिले खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष समेत हुनुहुन्छ। उहाँले वडाको आर्थिक सहयोगमा झण्डै पाँच किलोमिटर लामो सडक निर्माण गरी गाँज्रादेखि वडा कार्यालयसम्म जोड्नुभएको थियो। तर हाल अविरल वर्षाले उक्त सडक अवरुद्ध बनाएको छ। त्यस्तै, बाजुराको गौरवको योजना मानिएको डाब–खप्तड पर्यटकीय सडक पनि विगत १६ वर्षदेखि अधुरो छ।
फलफूल र तरकारी खेतीका लागि अत्यन्त उपयुक्त मानिने काँडामा स्याउसँगै सुन्तला, ओखर, आलु, मुला (चोतो) लगायतका उत्पादन हुने गर्छन्।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा हाल १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। गत वर्ष जस्तै यो वर्ष पनि करिब एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको छ। विगतमा उत्पादित स्याउमध्ये करिब छ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुन सकेको जानकारी उहाँले दिनुभयो।
कृषि ज्ञान केन्द्रका अनुसार स्याउ तथा अन्य फलफूल बजारसम्म पुर्यउनका लागि ढुवानीको व्यवस्था मिलाउने प्रयास भइरहेको छ। तर सडक तथा यातायात पूर्वाधार अभावले किसानहरू अझै कठिनाइमा छन्।
06 Oct 2025, Monday