चाडपर्वको उल्लासमा जुवातासको कुसंस्कार: रोकथामको आवश्यकता

करन साउँद


चाडपर्वको उल्लासमा जुवातासको कुसंस्कार: रोकथामको आवश्यकता

सम्पादकीय

नेपालका चाडपर्वहरू सांस्कृतिक विविधता, सामूहिक खुशी र आत्मीयताको प्रतीक हुन्। नयाँ वर्ष, तिज, गौरापर्व, जनै पूर्णिमा, दशैँ, तिहार, फागु, उभौली उधोली पवर्व लगायत विभिन्न जातजातीहरूले मनाउने आफ्ना मैलिक पर्वहरूले पारिवारिक मेलमिलाप र सामाजिक सद्भावलाई मजबुत बनाउने अवसर दिन्छन्। तर पछिल्ला वर्षहरूमा यी पर्वहरूमा एउटा नकारात्मक चलन अझ बढी मौलाउँदै गएको छ त्यो हो जुवातास। चाडपर्वको नाममा यसलाई “रमाइलो” वा “संस्कार”को रूपमा सामान्यीकरण गर्न खोज्ने प्रवृत्तिले समाजमा अनेक समस्या निम्त्याइरहेको छ।

जुवातासले समाजमा पार्ने असर केवल आर्थिक क्षतिमा मात्र सीमित छैन। यसले पारिवारिक विग्रह, घरेलु हिंसा, आपसी अविश्वास र सामाजिक विभाजनलाई बढावा दिन्छ। पर्वको नाममा रातभरी चल्ने जुवा–तासले मदिरा सेवन, झगडा र हुलदंगा निम्त्याउँछ, जसको प्रत्यक्ष मार महिलामाथि शारीरिक तथा मानसिक हिंसा, बालबालिकामाथि बेवास्ता र वृद्धहरूमा तनावको रूपमा पर्छ। धेरै परिवारहरूमा आर्थिक संकटको प्रमुख कारण पनि यिनै पर्व अवधिमा हुने जुवा र दाउ–पाँचा हुन्। ऋण लिएर दाउ खेल्ने, घर–जग्गासम्म गुमाउने घटना असामान्य होइन।

जुवातासलाई सांस्कृतिक पर्वसँग जोड्नु घातक सोच हो। संस्कार भनेको सकारात्मक मूल्य र आचरण हो, जसले समाजलाई एकतामा बाँध्छ; तर जुवातासले त उल्टो वैमनस्य र ईर्ष्या फैलाउँछ। पर्वको समयमा “साथीभाइसँग बस्ने बहाना”मा खेलिने जुवा अन्ततः आपसी सम्बन्ध बिगार्ने, नजिकका साथीलाई शत्रु बनाउने र आर्थिक असमानतालाई अझ गहिरो बनाउने कारण बन्छ। यसले युवापुस्तालाई गलत लततर्फ आकर्षित गर्छ, पढाइ–रोजगारीमा असर पार्छ र नैतिक पतन निम्त्याउँछ।

यस कुसंस्कारको न्यूनीकरणका लागि बहुआयामिक उपाय आवश्यक छन् ।

पहिलो, कानुनको कडाइ। मुलुकी अपराध संहिता र अन्य कानुनी व्यवस्थाले जुवा–तासलाई गैरकानुनी मानेको भए पनि पर्वको नाममा यसलाई खुला छुट दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ। प्रहरी प्रशासनले पर्व अवधिमा विशेष निगरानी राखी ठूला जुवा–तास केन्द्रहरूमा छापा मार्ने र कानुन उल्लंघन गर्नेहरूलाई दण्डित गर्नुपर्छ।

दोस्रो, सामाजिक दबाब सिर्जना। स्थानीय टोल विकास समिति, आमा समूह, युवा क्लब र धार्मिक/सांस्कृतिक संस्थाहरूले जुवातासविरुद्ध सामूहिक प्रतिबद्धता जनाउनुपर्छ। “जुवारहित पर्व” अभियान चलाउन सकिन्छ, जसअन्तर्गत रमाइलोका लागि वैकल्पिक गतिविधि जस्तै खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सामूहिक भोज र मेलापातको आयोजना गरिनुपर्छ।

तेस्रो, चेतना अभिवृद्धि। विद्यालय, कलेज र मिडियाले जुवातासको सामाजिक र पारिवारिक क्षतिको बारेमा निरन्तर सन्देश फैलाउनुपर्छ। अभिभावकहरूले सन्तानलाई सानैदेखि जुवातासको नकारात्मक असर बुझाउनुपर्छ।

चौथो, पारिवारिक संवाद र अनुशासन। पर्वमा आर्थिक सीमा निर्धारण गर्ने, समय व्यवस्थापन गर्ने र परिवारसँग मिलेर सकारात्मक गतिविधिमा संलग्न हुने अभ्यास विकास गर्नुपर्छ।

चाडपर्वको उद्देश्य आत्मीयता, सहयोग र खुशी बाँड्नु हो, सम्पत्ति गुमाउनु वा सम्बन्ध बिगार्नु होइन। जुवातासले क्षणिक रमाइलो दिन सक्छ तर दीर्घकालीन पीडा र पछुतो मात्र बाँकी रहन्छ। यसलाई “संस्कार” भन्ने भ्रमबाट मुक्त भई हामीले यसलाई पूर्ण रूपमा अस्वीकार गर्नुपर्छ।

अब समय आएको छ हामी सबै मिलेर चाडपर्वको मौलिकता जोगाउने, जुवातास जस्तो कुसंस्कार उन्मूलन गर्ने र समाजमा अमन–चयन कायम राख्ने सामूहिक संकल्प गर्ने। त्यो संकल्पले मात्र हाम्रा पर्वलाई साँच्चिकै खुशी, सद्भाव र सांस्कृतिक गौरवको प्रतीक बनाउन सक्छ ।


प्रतिक्रिया