खाजा खाने क्रममा विवाद, कैलालीमा युवकको घाँटी रेटेर विभत्स हत्या

बिगूल समाचारदाता

कैलाली । कैलालीमा एक युवकको घाँटी रेटेर विभत्स हत्या गरिएको छ। घोडाघोडी नगरपालिका - ८ मा शुक्रवार राति खाजा खाने क्रममा भएको विवादमा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका - ३ घर भएका मृतक केशरसिंह बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मसमर्पण गरेका छन्।

आत्मसमर्पण गर्नेहरूमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेका छन्। उनीहरू धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। सोही क्रममा विवाद भएपछि उनीहरूले धारिलो हतियार प्रहार गरी बुढाको घाँटी रेटेर हत्या गरेका थिए।

हाल मृतकका आफन्त सुर्खेतबाट आइरहेकाले शव घटनास्थलबाट उठाइएको छैन।

प्रतिक्रिया