कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन

lalbigul.com

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन गर्दै संस्थापक नेता कर्माचार्यको विचार र योगदानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

भीमदत्त नगरपालिकाको पार्टी सम्मेलनमा सहभागी हुन कञ्चनपुर पुगेका श्रेष्ठले शाखा कार्यालय उद्घाटनसँगै संस्थापक सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यालयका लागि स्थान उपलब्ध गराउने पंकज रावल र उनको परिवारलाई विशेष धन्यवाद दिए।

श्रेष्ठले भने, “नरबहादुर कर्माचार्यजस्ता निष्ठावान्, सिद्धान्तनिष्ठ र निरन्तर संघर्षशील नेता दुर्लभ छन्। उहाँको जीवनचरित्रबाट हामीले प्रेरणा लिनुपर्छ र भ्रष्टाचार तथा विचलनबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउनु पर्छ।”

उनले २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा सुरु भएको कम्युनिस्ट आन्दोलनले मुलुकमा ठूला राजनीतिक परिवर्तनहरू ल्याएको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समावेशी लोकतान्त्रिक संविधानको स्थापना प्रमुख उपलब्धि भएको बताए। “यो उपलब्धिको रक्षा गर्नु आजको पहिलो जिम्मेवारी हो,” उनले जोड दिए।

श्रेष्ठले लोकतान्त्रिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिको अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै सहिदहरूको बलिदान केवल राजनीतिक परिवर्तनका लागि नभई समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गरे। “त्यो लक्ष्य पूरा नगरी हाम्रो ऐतिहासिक उद्देश्य पूरा हुँदैन,” उनले भने।

उनका अनुसार वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्न पार्टी एकता, मजदुर–किसान–दलित–जनजाति लगायत उत्पीडित वर्गका मुद्दामा केन्द्रित हुनु आवश्यक छ। “पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास र वर्गसंघर्षलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले थपे।

श्रेष्ठले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानलाई वैचारिक कार्य अगाडि बढाउने, नेताहरूको जीवनचरित्रको प्रचार–प्रसार गर्ने र जनतालाई सचेत बनाउने महत्त्वपूर्ण संस्था हुने बताए। उनले प्रतिष्ठानबाट प्रकाशित ‘अनुशीलन’ नामक वैचारिक जर्नल, वैज्ञानिक दृष्टिकोणबाट वर्गविश्लेषणको अभियान र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे पनि जानकारी गराए।

प्रतिक्रिया