घरमै सुत्केरी, उपचार नपाउँदै ज्यान गयो : आलितालमा ३० वर्षीया महिलाको मृत्यु

बिगूल समाचारदाता

डडेल्धुराको आलितालमा रक्तस्रावले ३० वर्षीया सुत्केरीको मृत्यु, नवजात शिशु जीवित

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा घरमै सुत्केरी हुँदा समयमै उपचार नपाएर एक महिलाले ज्यान गुमाएकी छन्। आलिताल गाउँपालिका–१ माला गाउँकी ३० वर्षीया सीता देवी आउजीको अत्यधिक रक्तस्रावका कारण मंगलबार बिहान मृत्यु भएको हो।

मृतक सीता लक्ष्मण आउजीकी श्रीमती हुन्। वडा अध्यक्ष यज्ञबहादुर देउवाका अनुसार उनले गएराति करिब ३ बजे घरमै शिशु जन्म दिएकी थिइन्। सुत्केरीपछिको निरन्तर रक्तस्रावले अवस्था गम्भीर बन्दै गए पनि स्वास्थ्य संस्थामा समयमै पुग्न नसक्दा बिहान करिब ७ बजे उनको मृत्यु भएको हो।

परिवारका अनुसार सीता हिजो बिहान डोटी जिल्लाको जोरायल गाउँपालिका अन्तर्गत पर्ने पोखरीडाँडा स्वास्थ्य इकाइमा सामान्य गर्भ परीक्षण गराएर घर फर्केकी थिइन्। स्वास्थ्यकर्मीले नजिकैको आफन्तको घरमा बसेर सम्पर्कमा रहन सुझाव दिए पनि उनी घर फर्किएकी थिइन्। राति अचानक सुत्केरी व्यथा सुरु भएपछि स्वास्थ्य संस्थासम्म जान नसक्दा समस्या झन् जटिल बनेको परिवारको भनाइ छ।

स्वास्थ्य इकाइ पुग्न उकालो बाटो करिब आधा घण्टा हिँड्नुपर्ने र राति तत्काल एम्बुलेन्स उपलब्ध नहुँदा बिहान एम्बुलेन्स बोलाउने निर्णय गरिएको थियो। तर एम्बुलेन्स आइपुग्नुअघि नै अत्यधिक रक्तस्रावका कारण सीताले ज्यान गुमाइन्।

वडा अध्यक्ष देउवाले जनचेतनाका कार्यक्रम सञ्चालन हुँदै आए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको स्वीकार गर्दै खबर पाउनासाथ एम्बुलेन्स लिएर घटनास्थल पुगेको तर महिलाको मृत्यु भइसकेको जानकारी दिए। सीताले तेस्रो सन्तान जन्म दिएकी थिइन् भने नवजात शिशु जीवित रहेको जनाइएको छ।

आलिताल–१ स्वास्थ्य चौकी हर्तोलाकी अनमी कुशुम पन्तका अनुसार सीताले गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् र अवस्था सामान्य नै थियो। तर सुत्केरीको समयमा स्वास्थ्य संस्थासँग सम्पर्क नहुनु मुख्य कारण बनेको उनले बताइन्।

मृतक महिला बसोबास गर्ने क्षेत्र बाढी–पहिरोको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। स्थानीयका अनुसार वर्षायाममा उनीहरू अस्थायी टेन्टमा बस्न बाध्य छन्, जसले स्वास्थ्य सेवा पहुँच झन् कठिन बनाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। यस घटनाले ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी सेवा, समयमै एम्बुलेन्स र स्वास्थ्य संस्थामा पहुँच अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया