डडेल्धुरा, ३० साउन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा गन्यापधुरा गाउँपालिका–३ स्थित प्रहरी चौकी सकायलमा सार्वजनिक सुनुवाइ तथा सचेतनामूलक बोर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर कार्कीको अध्यक्षता तथा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ, गन्यापधुरा गाउँपालिका २ र ३ का वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय सहभागिता थियो।
के.आई. सिंह राजमार्ग र भीमदत्त राजमार्गका विभिन्न स्थानमा सडक सुरक्षा र अपराध नियन्त्रणका उद्देश्यले सचेतनामूलक होर्डिङ बोर्डहरू स्थापना गर्ने अभियान सुरु गरेको श्रेष्ठले बताए ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठको नेतृत्वमा सकायलदेखि भात्काँडासम्मका विभिन्न स्थानमा राखिएका होडिङ्ग बोर्डहरूमा आत्महत्या रोकथाम, बालबालिकामाथि हुने हिंसा तथा अपराधबारे सचेतना, र ट्राफिक संकेत तथा यातायात नियम सम्बन्धी सन्देश समावेश छन्।
प्रहरी सहायक निरीक्षक शंकर जोशीका अनुसार, “सडक सुरक्षा, अपराध रोकथाम र जनचेतना फैलाउन यो अभियान महत्वपूर्ण छ। होर्डिङ बोर्डमार्फत आमजनतालाई सजिलो भाषामा सन्देश पुर्याउन सकिने भएकाले यसको दीर्घकालीन प्रभाव पर्ने विश्वास छ।”
स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सरोकारवाला निकायहरूको सहकार्यमा सञ्चालित यस अभियानको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा समाजमा सकारात्मक चेतना फैलाउनु रहेको जिल्ला प्रहरीले जनाएको छ।