अछाम । पञ्चदेवल विनायक नगरपालिका–८ बराला अछामको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बारेर त्रिपालमुनि बसिरहेका दुई जनाको ढुंगा खस्दा ज्यान गएको छ।
प्रहरीका अनुसार, गएराति त्रिपाल टाँगेर सुतेका बेला माथिबाट खसेको ढुंगाले २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। मृतक कविताकी आमा ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भएकी छिन्। टाउकोमा चोट लागेकाले उनलाई तत्काल उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
“गाउँमा छाउगोठ नभएकाले महिनावारी भएका महिलाले छोराछोरीलाई समेत लिएर बारीमा त्रिपाल टाँगेर बस्न बाध्य भएका रहेछन्,” डीएसपी खनालले भने, “यसरी त्रिपालमुनि बस्न बाध्य बनाइएको प्रमाण भेटिए कानुनी कारबाही अघि बढाइनेछ।”
स्थानीयवासीका भनाइअनुसार, अछाममा छाउगोठ भत्काउने अभियानपछि धेरै महिलाहरू महिनावारी अवधिमा त्रिपालमुनि वा ओडारमा बस्न थालेका छन्। तर सुरक्षित विकल्प नदिइएको कारण यस्ता दुर्घटनाहरू दोहोरिन थालेको उनीहरूको गुनासो छ।