सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्यो, १७० मध्ये १३६ नमूना पोजेटिभ

बिगूल समाचारदाता

सुदूरपश्चिम प्रदेशमा रेबिजको सङ्क्रमण तीव्र रुपमा बढिरहेको देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ ।

सबैभन्दा बढी सङ्क्रमण कैलालीमा पाइएको छ, जहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ देखिएका छन् । कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा ७ मध्ये ५, डोटीमा ८ मध्ये ६ र बझाङमा ३ पोजेटिभ नतिजा आएको छ ।

वरिष्ठ चिकित्सक जोशीका अनुसार, रेबिज फैलनमा मुख्य भूमिका कुकुरको देखिएको छ । परीक्षण गरिएका ८७ कुकुरका नमूनामध्ये ७२ पोजेटिभ भेटिएका छन् । त्यसैगरी, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये ८, बङ्गुरका ७ मध्ये ५, घोडाका २ मध्ये दुवै र खरायोको एउटा नमूनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले आव २०७६/७७ देखि रेबिज रोग अन्वेषण तथा सर्भिलेन्स सुरु गरेको हो । सुरुवाती वर्षमा दुई नमूनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु वर्ष १३६ पोजेटिभ भेटिनु रोग बढ्दो क्रमको प्रमाण हो ।

“रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ,” चिकित्सक जोशीले भन्नुभयो, “जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुरमा र त्यसमार्फत मानिस र अन्य जनावरमा फैलिन्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, प्रत्येक वर्ष विश्वभर करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसमा ९५ प्रतिशत मृत्यु अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन् । नेपालमा मात्र हरेक वर्ष एक लाखभन्दा बढी मानिसलाई जनावरले टोकेको तथ्याङ्क छ भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको छ । अध्ययनअनुसार नेपालमा हाल करिब २९ लाख कुकुर रहेका छन् ।

“रेबिजको लक्षण देखिएपछि उपचार सम्भव छैन, मृत्यु निश्चित हुन्छ, त्यसैले रोकथाममै जोड दिनुपर्छ,” जोशीले चेतावनी दिनुभयो । उनका अनुसार सङ्क्रमित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गरी चाँडै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउनुपर्छ ।

उहाँका अनुसार रेबिज लागेपछि पानी पिउन गाह्रो हुने वा डर लाग्ने, स्मरणशक्ति हराउने, ज्वरो आउनेलगायत लक्षण देखिन्छ । शरीरमा प्रवेश गरेको भाइरसको मात्राअनुसार लक्षण छिटो वा ढिलो देखिन सक्छ ।

“विकसित केही मुलुकमा रेबिज नियन्त्रण भइसकेको छ, केहीमा उन्मुख अवस्थामा छ, तर नेपालमा अझै पनि यो ठूलो चुनौती हो,” उहाँले बताउनुभयो । उहाँका अनुसार सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके नेपालमा पनि रेबिज नियन्त्रण सम्भव छ ।

विश्व रेबिज दिवस २०२५ का अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया