डडेल्धुरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले सुदूरपश्चिम प्रदेशभर सञ्चालन गर्न लागिएको वृहत एकता सन्देश अभियानअन्तर्गत जिल्लामा आयोजना हुने पहिलो सभाको तयारी तीव्र बनाएको छ। शनिबार नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीसम्बद्ध नेता तथा कार्यकर्ताहरूको सहभागितामा तयारी बैठक सम्पन्न भएको हो।
मूल आयोजक समितिका संयोजक उमेश भट्ट ‘विकास’का अनुसार सुदूरपश्चिमका सबै जिल्लामा गरिने एकता सन्देश सभाको औपचारिक सुरुआत आगामी मंसिर २४ गते डडेल्धुराबाट हुने निश्चित भएको छ। सोही दिन डडेल्धुरा सदरमुकामस्थित बसपार्कमा वृहत एकता सन्देश सभा आयोजना गरिनेछ।
सभामा पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायत शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण कमिटी, जनवर्गीय संगठन, समर्थक, शुभेच्छुक तथा आम नागरिकलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरिएको छ।
कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि उमेश भट्ट ‘विकास’को संयोजकत्वमा तथा सुरेन्द्र बिष्ट र कबिन्द्र बिष्टको सहसंयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिअन्तर्गत आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, सुरक्षा, मञ्च व्यवस्थापन तथा स्वयंसेवक उपसमितिहरू पनि गठन गरिएका छन्।
सहसंयोजक सुरेन्द्र बिष्टका अनुसार यी उपसमितिहरूले सभालाई सफल, व्यवस्थित र अनुशासित बनाउन आवश्यक सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछन्। यस एकता सन्देश सभाले जिल्लामा कम्युनिष्ट विचारधारासम्बद्ध नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र जनसम्पर्कलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।