फेसबुक दर्ताको लागि सञ्चालक संस्था मेटाले माग्यो आवश्यक कागजात

करन साउँद

डडेल्धुरा । सरकारले नेपालमा दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक सञ्चालक संस्था मेटाले दर्ता गर्न नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ ।

सरकारले दर्ता नगरेको भन्दै विहिवार  फेसबुक सहितका २६ समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन मेटाका कर्मचारीले सञ्चार मन्त्रालयमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेका हुन् ।

मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने आवश्यक कागजातको विवरण आफूहरुले विवरण पठाएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने विवरणबारे चासो राख्नु भएको थियो,’ उनले भने, ‘हामीले विवरण इमेलमार्फत पठाइ दिएका छौँ ।’ ठाकुरले औपचारिकरुपमा मेटाले दर्ता प्रक्रिया सुरु नगरेसम्म प्रतिबन्ध कायमै रहने बताए। ‘दर्ता नभएसम्म हाम्रो निर्णय कामयै हुन्छ,’ उनले भने ।

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको थियो । हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइन जस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको थियो । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

प्रतिक्रिया